बीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालले सीमावर्ती क्षेत्रमा देखिएका सामाजिक अपराधहरु नियन्त्रणतर्फ ध्यान दिन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
पर्सा प्रहरीले ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका सिडिओ भुसालले यस्तो निर्देशन दिएका हुन् ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा सामाजिक अपराधहरुको ग्राफ उकालो लाग्दो रहेको जनाउँदै उनले यसतर्फ मध्यनजर गर्दै काम गर्न आग्रह गरेका छन् । उनी भन्छन्, ‘शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा अपराध नियन्त्रण जस्ता कार्यक्रममा कुनै पनि प्रकारको मोलाहिजा नपरीकन, सम्झोता नगरीकन कार्यसम्पादन गर्न दिशा निर्देश गर्दछु ।’
समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने मामिलामा प्रहरीको काम तारिफ योग्य रहेको उनको भनाइ छ ।
प्रहरीबाट हुने सम्पूर्ण कार्यमा जिल्ला प्रशासन कार्यालयको साथ, सहयोग समर्थन रहने सिडिओ भुसालले प्रतिबद्धतासमेत जनाएका छन् ।
सिडिओ भुसालले प्रहरी कर्मचारीले आफ्नो ‘करियर’को श्रीवृद्धिसंगै र संगठनको साख वृद्धिलाई मन वचन र कर्मले कटिबद्ध बन्दै सम्पूर्ण प्रहरी कर्मचारीको व्यक्तिगत तथा व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
यसैगरी पर्सा प्रहरीको वर्तमान नेतृत्वले जिल्लामा शान्ति सुरक्षा चुस्त राख्न सफल भएको भन्दै कार्यक्रममा सहभागी वक्ताहरुले औल्याएका थिए ।
पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनताको सेवामा प्रहरी अहोरात्र खटिरहने दाबी गरे । उनले भने, ‘हामी जनताको सेवक हौं, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै आम जनता हो । त्यही भएर हामी आम नागरिकमा सेवा प्रवाह गर्न कुनै कसर बाँकी राख्दैनौं ।’
प्रहरी कानुन मिचेर वा नियम कानुन भन्दा बाहिर गएर कहिल्यै पनि काम नगर्ने उनको भनाइ थियो ।