ट्रेन्डिङ

पहिलो वर्षमै बीएचसी मेडिकल कलेजको ऐतिहासिक सफलता, मधेसमै प्रथम स्थान

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित बीएचसी मेडिकल कलेज (नर्सिङ् क्याम्पस) ले सञ्चालनको पहिलो वर्षमै उल्लेखनीय सफलता हासिल गर्दै मधेस प्रदेशमै प्रथम स्थान ओगट्न सफल भएको छ ।

सीटीईभीटीईले शुक्रबार सार्वजनिक गरेको पीसीएल नर्सिङ प्रथम वर्षको परीक्षाफल अनुसार कलेजले शतप्रतिशत नतिजा ल्याउँदै आफूलाई प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गरेको हो ।

प्रकाशित नतिजा अनुसार बीएचसी मेडिकल कलेजका सबै ४० जना विद्यार्थी सफल भएका छन्, जुन उपलब्धि नयाँ स्थापना भएका कलेजका लागि मात्र नभई समग्र प्राविधिक शिक्षाक्षेत्रकै लागि प्रेरणादायी मानिएको छ ।

शैक्षिक सत्र २०८१/०८२ देखि पीसीएल नर्सिङ, हेल्थ असिस्टेन्ट (एचए) तथा बी-फार्मा संकाय सञ्चालनमा ल्याएको कलेजमा हाल तीनै संकायमा पहिलो र दोस्रो वर्ष गरी करिब दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

आफ्नै सुविधासम्पन्न भवन, प्रयोगात्मक सिकाइमा जोड र दक्ष शिक्षकको संलग्नताले कलेजलाई छोटो समयमै उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेलेको व्यवस्थापन पक्षको भनाइ छ ।

कलेजका अध्यक्ष डा. अबुल हैस अन्सारीका अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता, शिक्षक–विद्यार्थीको निरन्तर मेहनत तथा अनुशासित शैक्षिक वातावरणकै कारण पहिलो वर्षमै यस्तो नतिजा सम्भव भएको हो ।

उनले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउँदै स्वास्थ्य शिक्षा क्षेत्रमा उदाहरणीय संस्था बनाउने लक्ष्य रहेको बताए ।

उक्त नतिजा अनुसार मधेस प्रदेशमा दोस्रो स्थान सप्तरीको राजविराजस्थित छिन्नमस्ता एजुकेशन एकेडेमी ले हासिल गरेको छ, जहाँ ४० मध्ये ३८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी वीरगन्जकै एभरग्रीनले ४० मध्ये ३४ विद्यार्थी उत्तीर्ण गराउँदै तेस्रो स्थान सुरक्षित गरेको छ ।

मधेस प्रदेशभर पीसीएल नर्सिङ अध्यापन हुने निजी कलेजहरूको संख्या १९ पुगेको सन्दर्भमा बीएचसी मेडिकल कलेजको यो सफलता प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय शिक्षाको सशक्त उदाहरणका रूपमा हेरिएको छ ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको बीएचसी कलेजको यो उपलब्धिले अन्य शैक्षिक संस्थाहरूलाई समेत सकारात्मक प्रतिस्पर्धा र गुणस्तर अभिवृद्धितर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै