ट्रेन्डिङ

पर्साबाट एसईईको सबै कपी जाँच गरेर बोर्डमा पठाइयो, २९ गतेभित्र ‘रिजल्ट आउट’ गर्ने तयारी

६० प्रतिशत नतिजा आउने अनुमान

वीरगन्ज । पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को कपी (उत्तरपुस्तिका) जाँच कार्य सम्पन्न भएको छ ।

सबै विषयका परीक्षाका कपीहरु (उत्तरपुस्तिका) जाँच कार्य सम्पन्न भएको हो । शिक्षा विकास तथा समन्वय एकाई कार्यालय पर्साका अनुसार जिल्ला भरिका कपी जाँच गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाइसकिएको छ ।

इकाई प्रमुख मोती प्रसाद भट्टराईका अनुसार जाँच गरिएका कपीहरु तीन चरणमा बोर्डमा पठाइएको छ ।

जसअनुसार पहिलो चरणमा अनिवार्य अंग्रेजी र नेपाली विषयका कपीहरु पठाइएको थियो । भने दोस्रो चरणमा ऐच्छिक बाहेकका विषयका कपीहरु बोर्डमा पठाइएको उनले बताए ।

यसैगरी बैशाख २ गते अन्य सबै विषयका कपीहरु जाँच गरेर पठाइएको कार्यालयले जानकारी दिएको छ ।

उनले भने, ‘हामीले सबै विषयका कपीहरु जाँच गरेर हिजो नै बोर्डमा पठाइसकेका छौं, यो वर्ष जाँच गरिएका कपीहरु केन्द्रमा तीन चरणमा पठाइएको छ । पहिलोचरणमा अंग्रेजी र नेपाली कपीहरु चेक गरेर चैत २९ गते, दोस्रोचरणमा ३० गते ऐच्छिक विषयबाहेकका अन्य कपीहरु पठाइएको छ भने अन्तिममा बाँकी भएका अरु विषयका कपीहरु हिजो मात्र पठाइएको हो ।’

पर्साबाट यसवर्ष करिब ६० प्रतिशत नतिजा (रिजल्ट) आउने अनुमान गरिएको शिक्षा विकास तथा समन्वय एकाई कार्यालय स्रोतको दाबी छ ।

समयमै कपीहरु जाँच गरेर बोर्डमा पठाइएकाले निर्धारित समयमै नतिजा सार्वजनिक हुने इकाई प्रमुख भट्टराईको विश्वास छ ।

बैशाख २९ गतेभित्र यसवर्षको एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय एकाई कार्यालयले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै