काठमाडौँ । सरकारले देशभरका केही निजी विद्यालयहरूले नियमविपरीत विद्यार्थी भर्ना तथा शुल्क असुली गरिरहेको भन्दै कडा चेतावनी दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
मन्त्रालयले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) तथा सर्वोच्च अदालतको आदेश विपरीत शैक्षिक सत्र सुरु हुनु अघि नै भर्ना लिने र विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिनू, तोकिएको बाहेक एक पैसा पनि नलिन मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको निर्देशन छ । नियम उल्लङ्घन गर्ने विद्यालयलाई नछोडिने र सिधै कारबाहीको दायरामा ल्याइने उनको चेतावनी छ।
अवैध रूपमा असुलिएको रकम तत्काल फिर्ता गर्न आदेश दिँदै उनले अटेर गर्ने संस्थामाथि शिक्षा ऐन २०२८ बमोजिम कडा कारबाही हुने जानकारी दिए ।
अभिभावकलाई पनि सचेत गराउँदै सहसचिव सापकोटाले भने, ‘यदि कसैले जबर्जस्ती शुल्क असुल्छ भने चुप लागेर नबस्नुहोस्, उजुरी दिनुहोस् ।’
