बीरगन्ज । पर्सा प्रहरीले चोरीको ५ वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने सिद्धार्थ चौधरी, वडा नम्बर ८ बस्ने बिशाल दास थारु र वडा नम्बर २ बस्ने पृतम कुमार महतो रहेका छन् ।
असोज २५ सखुवाप्रसौनी गाउँपालिका–१ सतोवल निवासी शिवदत्त दास थारुको ना ५१ प ७४३५ नम्बरको ‘यामाहा एफजेड १५० सिसि’ को मोटरसाइकल उनकै घरबाट चोरी भएको थियो ।
घटनापश्चात शिवदत्तले इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा दिएको उजुरीको आधारमा प्रहरीले मोटरसाइकलको खोजी सुरु गरेको जनाएको छ । सोही क्रममा पर्सागढी नगरपालिका वडा नम्बर ९ कोइलाभारस्थित सिद्धार्थले चलाइरहेको अवस्थामा उक्त मोटरसाइकल फेला पारेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।
प्रहरीले सिद्धार्थलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा उनले बिशाल र पृतमको नाम खुलाएकोले उनीहरुलाई समेत नियन्त्रणमा लिइएको जानकारी दिएको छ । उनीहरुको साथबाट थप चार वटा मोटरसाइकल समेत फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।