ट्रेन्डिङ

पर्सामा आमाको नामबाट नागरिकता दिँदा ३०देखि ५० हजार सिडिओको दररेट, कसको माध्यमबाट पैसा असुलिँदै ?

वीरगन्ज । पर्सामा आमाको नामबाट नागरिकता लिन खोज्ने सेवाग्राहीसँग ३० हजारदेखि ५० हजार रुपैयाँसम्म असुली भइरहेको गुनासो आएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बिचौलियामार्फत यस्तो रकम उठाइँदै आएको आरोप सेवाग्राहीहरूले गरेका छन्।

छिपहरमाइ गाउँपालिकाका अर्जुन हजरा विगत दुई महिनादेखि आमाको नामबाट नागरिकता लिन सिडिओ कार्यालय धाइरहेका छन्।

प्रावधान लागू भएपछि उनले प्रक्रिया सुरु गरे पनि अहिलेसम्म नागरिकता पाउन सकेका छैनन्।

उनका अनुसार आवश्यक सबै कागजात पूरा गरेर वडाको सिफारिस र प्रहरी सर्जमिनसहित निवेदन पेश गरे पनि कार्यालयले नागरिकता दिन आलटाल गरिरहेको छ।

उनी भन्छन्, “सबै कागजात पूरा गरेर फाइल दिइसकेको छु, तर अझै नागरिकता पाएको छैन।”

हजराका अनुसार कार्यालयमा जाँदा हरेक पटक “आज–भोलि दिन्छौँ” भन्ने आश्वासन मात्र पाइन्छ।
उनी थप्छन्, “यही क्रममा केही दलालसँग भेट भयो। उनीहरूले पैसा दिए छिट्टै नागरिकता बनाइदिन्छौँ भनेका छन्, नत्र धाइरहनुपर्छ भन्छन्।”

उनको बुझाइमा पैसा नदिनेहरूलाई झुलाइन्छ भने पैसा दिनेहरूले सहज रूपमा नागरिकता पाइरहेका छन्।

यस्तै समस्या बहुदरमाइ नगरपालिका–९ का कामपुरी हजामले पनि भोगिरहेका छन्।

उनी भन्छन्, आवश्यक कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर कार्यालयबाट फर्काइने गरिएको छ।

२ सय आवेदन, ३४ जनालाई मात्रै नागरिकता

जिल्ला प्रशासन कार्यालय पर्सामा आमाको नामबाट नागरिकता लिन करिब दुई सय आवेदन परेको छ।

नागरिकता फाँटका कर्मचारी अजय ठाकुरका अनुसार दाबी–विरोधका लागि सूचना निकालिएको भए पनि हालसम्म जम्मा ३४ जनाले मात्र नागरिकता पाएका छन्।

धेरै आवेदन परे पनि प्रक्रिया ढिला हुनु र सेवाग्राहीलाई अल्झाइँदै आएको गुनासो बढ्दै गएको छ।

किन भइरहेको छ ढिलाइ ?

नेपालको संविधानको धारा १२ अनुसार वंशजका आधारमा नागरिकता पाउने व्यक्तिले आमा वा बाबुको नामबाट नागरिकता लिन सक्ने व्यवस्था छ।

यसै आधारमा नागरिकता ऐन, २०६३ तथा संशोधित नागरिकता नियमावली, २०८२ कार्यान्वयनमा आएपछि बुबाको पहिचान नखुलेको अवस्थामा आमाको नामबाट नागरिकता दिन सुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साले फागुन ५ गतेदेखि औपचारिक रूपमा यस्तो नागरिकता वितरण थालेको जनाएको छ।

बिचौलिया र कर्मचारीबीच मिलेमतोको आशंका

सेवाग्राहीहरूका अनुसार नागरिकता वितरण प्रक्रियामा केही कर्मचारी र बिचौलियाबीच मिलेमतो रहेको आशंका गरिएको छ।

एक सेवाग्राही भन्छन्, “पैसा नदिनेहरूलाई विभिन्न बहाना बनाएर झुलाइन्छ।”

हजराका अनुसार बिचौलियाहरूले खुलेआम ३० देखि ५० हजार रुपैयाँसम्म माग्ने गरेका छन्।

उनी भन्छन्, “कसैले ३० हजार देऊ, कसैले ५० हजार देऊ, भोलिपल्टै नागरिकता आउँछ भन्छन्। तर म दिन सक्ने अवस्थामा छैन।”

उनले केही कर्मचारीसँग नजिक रहेका लेखनदासमार्फत ‘डिल’ हुने गरेको समेत आरोप लगाए।

सिडिओको प्रतिक्रिया

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने घुस असुलीको आरोप अस्वीकार गरेका छन्।

उनले भने, “सबै प्रक्रिया पूरा गरेका सेवाग्राहीलाई नागरिकता दिन निर्देशन दिएको छु। कसैले गल्ती गरेको पाइए कारबाही हुन्छ।”

उनका अनुसार यस्तो गतिविधिबारे आफूलाई जानकारी नभएको बताएका छन्।

के के चाहिन्छ कागजात ?

जिल्ला प्रशासन कार्यालय पर्साले आमाको नामबाट नागरिकता लिन चाहनेका लागि आवश्यक कागजातबारे सूचना जारी गरेको छ।

सूचनाअनुसार नाता प्रमाणित कागजात, स्थायी बसोबास सिफारिस, जग्गाधनी लालपुर्जा, पारिवारिक विवरण, मतदाता परिचयपत्र, आमाको नागरिकता, विवाह दर्ता वा विवाह प्रमाणित कागजात, जन्म तथा मृत्यु दर्ता, घरको बिजुली बिल, बुवाको पहिचान सम्बन्धी किटानी सिफारिस तथा स्थानीय तह र प्रहरीको सर्जमिन अनिवार्य गरिएको छ।

यी सबै कागजात पूरा गरेका सेवाग्राहीलाई सहजरूपमा नागरिकता प्रदान गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै