वीरगन्ज । सीके राउतले संसदीय राजनीतिबाट अलगिने घोषणा गरेका छन्।
जनमत पार्टीका अध्यक्षसमेत रहेका उनले अब पद र निर्वाचन केन्द्रित राजनीतिबाट विश्राम लिने बताएका हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले आफू अब कुनै पनि संसदीय पदका लागि प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे।
उनले भने, पदको राजनीतिबाट टाढा रहे पनि जनताको अधिकार, पहिचान र मुद्दाका लागि संघर्ष भने निरन्तर जारी रहनेछ।
राउतका अनुसार उनले व्यक्तिगत चाहनाविपरीत दुई पटक संसदीय निर्वाचनमा भाग लिएका थिए।
तीमध्ये एक पटक विजय हासिल गर्दा अर्को पटक हार व्यहोरे पनि दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनले उल्लेख गरेका छन्।
उनले २०७५ सालतिरको परिस्थितिको स्मरण गर्दै तत्कालीन समयमा ‘स्वतन्त्र मधेश गठबन्धन’ लाई काम गर्न नदिने वातावरण बनेपछि बाध्य भएर राजनीतिक दल गठन गर्नुपरेको बताएका छन्।
सो क्रममा अन्य नेताहरूले अध्यक्षको जिम्मेवारी लिन अस्वीकार गरेपछि आफूले नेतृत्व सम्हाल्नुपरेको उनको भनाइ छ।
२०७९ सालको आमनिर्वाचनमा प्रत्यक्ष वा समानुपातिक कुनै पनि प्रणालीबाट उम्मेदवार नबन्ने योजना बनाएको भए पनि पार्टीभित्रको आग्रहका कारण उनले अन्ततः निर्वाचनमा भाग लिएको बताए।
त्यसको परिणामस्वरूप जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टीको हैसियत हासिल गरेको उनले दाबी गरेका छन्।
त्यस्तै २०८२ को निर्वाचनमा समेत उम्मेदवारी नदिने निर्णय गरिसकेपछि अन्तिम समयमा कार्यकर्ता र नेताहरूको मनोबल नघटोस भनेर आफू पुनः चुनावी मैदानमा उत्रिएको उनले बताएका छन्।
चुनावी परिणामपछि समेत साथीहरूको सुझाव सुनेर लिएको निर्णय उचित भएको महसुस भएको उनले उल्लेख गरेका छन्।
राउतले अब पद र संसद केन्द्रित राजनीतिक यात्राबाट विश्राम लिने तर आफ्नो सिद्धान्त, एजेन्डा र जनअधिकारको आन्दोलनलाई भने निरन्तर अघि बढाउने स्पष्ट पारेका छन्।
साथै उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सक्रिय बनाउने र जनताको सेवामा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।