
बीरगन्ज । बीरगन्ज रक्सौल नाकास्थित नेपाल–भारत सीमामा क्षेत्रमा गोलीको चलेको छ । भारतीय सीमामा खटिएका एसएसबी जवानसंग वादविवाद हुँदा गोली चलेको स्रोतले जनाएको छ ।
घटनाको अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको टोलीमध्येका एक अधिकारी अनुसार एसएसबीसंगको सोधपुछमा आफूहरुले गोली चलाएको स्वीकारेका छन् ।
उनका अनुसार सीमा क्षेत्रमा वादविवाद हुँदा आफूहरु ‘सेल्फ डिफेन्स’ मा गोली चलाएको स्वीकारेका छन् ।
अनुसन्धान गरिरहेका ती अधिकारीले भने, ‘हाम्रो टोलीसंग भारतीय एसएसबीहरुले सीमामै हवाइ फायर गरेको स्वीकारेका छन्, केही व्यक्तिहरुले विवाद गरेपछि बचाऊका लागि आफूहरु आफ्नै भूभागमा हवाइ फायर गरेका हौं । तर नेपाली भू–भागमा कसरी गयो त्यो हामीलाई थाहा छैन ।’
तर मितेरी पुल नजिकैबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
एक प्रत्यक्षदर्शीका अनुसार भारतीय एसएसबीले नेपाली भूीमामा छिरेर गोली चलाएका हुन । बीरगन्ज –रक्सौल नाकास्थितको मितेरी पुलको एरियाबाट नेपाली भू–भागमा प्रवेश गरेर एसएसबीले गोली चलाएको ती प्रत्यक्षदर्शी सुनाउँछन् ।
भारतीय भूमिमा पर्ने अहिरवा टोलाबाट लखेट्दै आएका एसएसबीका एक जवानले गोली चलाएको जनाइएको छ । मंगलबार दिउँसो चलेको गोलीकाण्डबाट कुनै किसिमको मानवीय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ ।
नेपाल–भारतको सीमा नजिकैबाट बरामद भएको गोलीको उक्त खोका इन्सास राइफलको रहेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार मितेरी पुल नजिकैबाट गोली बरामद भएको छ । तर कसले र किन चलाएको हो त्यो अझै खुल्न नसकेको उनी बताउँछन् । घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको पर्सा प्रमुख कुमोध ढुंगेलले बताए ।
उनका अनुसार प्रहरीले अहिले विशेष टोली खटाएको छ । ती टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।