ट्रेन्डिङ

होलीको पहिलो दिन वीरगन्ज शान्त

वीरगन्ज । वीरगन्जमा पहाडी समुदायको होलीको आज शान्तिपूर्ण वातावरणमा मनाइएको छ । एकापसमा रंग र अबिर दल्दै तथा लोला खेल्दै आज होली मनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले आजको होली शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।

उनका अनुसार कानुनविपरीत कसैले पनि गतिविधि नगरेको हुनाले पहिलो दिनको होलीमा अहिलेसम्म एक जना पनि पक्राउ परेका छैनन् । सवारीसाधनसमेत पनि कुनै नियन्त्रणमा नलिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसअघिका होलीमा भने झै–झगडा हुने, कुटपिट, ग्याङ फाइट हुने, मदिरा तथा लागू औषध सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, सवारीसाधनमा क्षमताभन्दा बढी मानिसहरु सवार हुनेजस्ता गतिविधि हुने गरेका थिए । तर यसपटक भने शान्तिपूर्णरूपमा होली मनाइएको उनको भनाइ छ ।

होलीदेखि नै एक हप्तासम्म बिदा र यहीबिचमा निर्वाचन भएकाले निर्वाचन आचार संहिताका कारण मदिराजन्य वस्तुहरू बिक्री वितरणमा समेत रोक लगाइएको छ । तराई मधेसमा होली विशेषगरी भोली र पर्सी मनाइने भएकोले आज कुनै विवाद वा दुर्घटना नभएको उनको तर्क छ ।

बहुसंख्यक समुदायले एक दिनपछि होली मनाइने भएको हुँदा आजको होली सामान्यरुपमा सम्पन्न भएको प्रहरी आंकलन छ । मधेसमा मंगलबार होली पर्व मनाउने तिथि भएपनि मंगलबार शाकाहारी होली भएकाले बुधबार मनाउने धर्मगुरुहरु बताउँछन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै