ट्रेन्डिङ

उद्योगीमैत्री वीरगन्जको एजेन्डासहित घरदैलोमा सरार्फ, औद्योगिक पुनरुत्थानको प्रतिबद्धता

वीरगन्ज । उद्योगधन्दामा देखिएको मन्दी र औद्योगिक वातावरणबारे बहस भइरहेका बेला जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद तीव्र पारेका छन्।

चुनावी अभियानअन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १८ (सौराहा, इनर्वा) र वडा नम्बर २२ (मनियारी) क्षेत्रमा पुगेर उनले स्थानीयसँग भेटघाट गरेका हुन्।

उक्त अवसरमा उनले विगतमा विभिन्न राजनीतिक दल निकट ट्रेड युनियन गतिविधिका कारण ठूला उद्योग र व्यवसाय प्रभावित भएको आरोप लगाए।

सरार्फले पछिल्ला वर्षमा उद्योगीमैत्री वातावरण अभावका कारण वीरगन्जको औद्योगिक क्षेत्र कमजोर बन्दै गएको उल्लेख गर्दै आफू निर्वाचित भए उद्योगीलाई सुरक्षित र सहज वातावरण उपलब्ध गराउने प्रतिबद्धता जनाए।

“उद्योगीमैत्री नीतिबिना आर्थिक समृद्धि सम्भव छैन। हामी वीरगन्जलाई पुनः सशक्त औद्योगिक नगरीका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढेका छौं,” उनले भने।

उनले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे।

स्थानीयस्तरमै उत्पादन वृद्धि, लगानी आकर्षण र प्रशासनिक सहजीकरणमार्फत उद्योग क्षेत्रलाई चलायमान बनाउने उनको भनाइ छ।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले उद्योग, व्यापार र रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवार आवश्यक रहेको उल्लेख गर्दै सरार्फप्रति समर्थन व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै