सप्तरी। डा. सीके राउत ले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारसमेत रहेका उनले शान्ति–सुव्यवस्था स्थापना र दीगो विकासलाई मुख्य एजेन्डा बनाएका छन्।
१५ वर्षअघि अमेरिका बसाइ त्यागेर सप्तरी फर्किएको स्मरण गर्दै राउतले यसपटकको निर्वाचनलाई “जंगलराजको अन्त्य र विकासको नयाँ युगको सुरुवात” गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्।
उनले विगतका वर्षहरूमा जिल्लामा देखिएको डर, त्रास, असुली, अपहरण तथा गुन्डागर्दी अन्त्य गर्ने दृढ प्रतिबद्धता जनाए।
आगजनी, लुटपाट र झुटा मुद्दा लगाउने प्रवृत्तिको अन्त्य गर्दै सबै जातजाति र समुदायका लागि अमनचैनको वातावरण निर्माण गर्ने उनको दाबी छ।
राउतले आफ्नो अघिल्लो कार्यकाल साढे दुई वर्षमै सकिएकाले धेरै योजनाहरू कार्यान्वयनको चरणमै रहेको उल्लेख गरे।
पुनः निर्वाचित भए अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाउँदै उनले राजविराज बसपार्क सञ्चालनमा ल्याउने, गजेन्द्र नारायण सिंह अस्पताल को नयाँ भवन सञ्चालन गर्ने र रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान को कामलाई गति दिने बताए।
यसैगरी, राजविराज–१३ स्थित मधेस कृषि विश्वविद्यालय को निर्माण सम्पन्न गर्ने, अलपत्र परेको कन्या छात्रावास तथा कोल्ड स्टोर परियोजना पूरा गर्ने योजना उनले सार्वजनिक गरे।
आर्थिक सशक्तीकरणतर्फ ग्रामीण महिलाका लागि ग्राम उद्योग भवनमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने योजना रहेको उनको भनाइ छ।
कृषिमा सिँचाइ र मलखादको समस्या समाधान गर्दै किसानको उपजको उचित मूल्य सुनिश्चित गरिने उनले स्पष्ट पारे।
राउतले समग्रमा सप्तरीको शान्ति, समृद्धि र रोजगारीलाई केन्द्रमा राखेर आफू पुनः जनताको मत माग्न आएको बताएका छन्।