ट्रेन्डिङ

छपकैयामा आयोजित भेलालाइ सम्बोधन गर्दै पूर्वमन्त्री अजय चौरसियाले भने – देश जोगाउने पार्टी कांग्रेस हो , अबको निर्णय जनताको हातमा सुम्पिएका छौं

वीरगन्ज । वीरगन्जमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ का अगुवाहरुको भेला आइतबार छपकैयामा सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय कुमार चौरसियाले पार्टीले कठिन राजनीतिक मोडहरूमा देश जोगाउन र जनताको अधिकार सुनिश्चित गर्न निर्णायक भूमिका खेलेको दाबी गरे। “इतिहासले कांग्रेसको भूमिका प्रमाणित गरिसकेको छ, अब जनताको निर्णयले भविष्य लेख्ने बेला आएको छ,” उनले भने।

पूर्वमन्त्री समेत रहेका उनले अब भावनात्मक नभइ परिणाममुखी नेतृत्व रोज्ने समय आएको उल्लेख गर्दै क्षेत्र नम्बर–२ मात्र होइन, पर्साका चारै निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताएर स्थिरता र विकासको बाटो मजबुत बनाउन आग्रह गरे।

“स्थानीय विकासका लागि समाजका सच्चा सिपाही, इमानदार र निरन्तर जनतासँग जोडिएर काम गर्ने प्रतिनिधि आवश्यक छन्,” उनले भने, “व्यक्तिगत स्वार्थ होइन, सामूहिक समृद्धि हाम्रो लक्ष्य हो।”

उनले सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि कांग्रेसको जित अपरिहार्य रहेको जिकिर गर्दै विकासलाई कागजमा होइन, व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए।

भेलामा छपकैया क्षेत्रका स्थानीयवासीहरूले चौरसियालाई उत्साहपूर्ण स्वागत गर्दै खुला समर्थन प्रकट गरेका थिए, जसले चुनावी माहोललाई थप ऊर्जा दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा पूर्वमन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामरुप कुर्मी, नेता तथा कार्यकर्ताहरु सतार मियाँ, अनवर हुसेन, मोहम्मद शहाबुद्दिन, सोइल अख्तर, दीपक शाह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै