वीरगन्ज । चैत्र १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्साबाट यो वर्ष पोहोर साल भन्दा कम परीक्षार्थी सहभागी हुदैँछन् ।
शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार यो वर्ष पोहोर सालभन्दा ६३३ जना कम विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।
कार्यालयका प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार यस वर्ष हुने एसइई परीक्षामा जिल्लाभरबाट १० हजार ७०१ जना परीक्षार्थीले भाग लिइरहेका छन् भने यो पोहोर साल ११ हजार ४१३ जना परीक्षार्थीले परीक्षा दिएको विवरण छ ।
जसअनुसार नियमिततर्फ ८ हजार ५७ जना, ग्रेडवृद्धितर्फ दुई हजार ४५९ जना र प्राविधिकधारतर्फ १८५ जना परिक्षार्थी सहभागी हुने उनले बताए ।
परिक्षार्थीहरुमध्ये साधारणतर्फ ७ वटा विषय र प्राविधिकधारतर्फ ९ वटा विषयको विद्यार्थीले परीक्षा दिने उनको भनाइ छ ।
परीक्षा दिने परीक्षार्थीहरुका लागि केन्द्रको फाइनल भइनसकेको उनले बताए । उनले भने, ‘परीक्षा केन्द्रहरु फिक्स भइसकेको छैन । हामी नियमित बैठक बसेर सल्लाहमै छौ । टुङग्याउने काम लगभग अन्तिम चरणमा छ, दुई चार दिनभित्र यो पनि फाइनल हुनेछ ।’
यसवर्षको एसइई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन रहनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने जनाइएको छ ।