ट्रेन्डिङ

मेयर राजेशमान सिंहको आक्रोश, भने – ‘वीरगन्जले धुलो–धुवाँ सह्यो तर सुविधा अरूले लिए’

अन्य वक्ताले के भने ?

वीरगन्ज ।  आर्थिक संस्कार सुधारका लागि सोच फराकिलो बनाउनुपर्नेमा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले जोड दिएका छन् ।

‘आत्मनिर्भर समृद्ध वीरगञ्ज – एक विराट सम्भावना’ भन्ने नारासहित शुक्रबार वीरगञ्जमा भएको आर्थिक संस्कार एजेण्डा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जोड दिएका हुन् ।

वैभव वीरगञ्ज निर्माणका लागि सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने उल्लेख गर्दै मेयर सिंहले संघीय सरकारले वीरगञ्जलाई उपेक्षा गरेको आरोप लगाए । देशका अन्य स्थानमा ढुवानी हुँदा वीरगञ्जबासीले धुलो–धुवाँ सहनुपरेको तर राज्यबाट अपेक्षित सुविधा नपाएको भन्दै उनले असन्तुष्टी जनाए ।

कार्यक्रममा उठेका विषयहरुलाई सम्बोधन  गर्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना आर्थिक समृद्धि हासिल नहुने स्पष्ट पारे । उनका अनुसार सामाजिक संस्कारको विकासले मात्र आर्थिक संस्कारको विकास सम्भव छ ।

मेयर सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरु विशेषगरी लहलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने बताए । कसैको प्रभाव वा दबाबमा नपरी युवाहरुले सकारात्मक र सिर्जनात्मक कार्य गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको भवना समेट्ने उद्देश्यले पिङ्क रोज मिडिया तथा आर्थिक संस्कारसँगै लायन्स क्लब काठमाडौँ सगुनले आयोजना गरेको कार्यक्रमका व्यवस्थापक राजेश महर्जनले जानकारी गराए ।

अन्तरक्रियामा  सहभागीहरुले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको औल्याए । अब जागिर खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।

आर्थिक संस्कारले नै बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुत मार्ग निर्माणपछि वीरगञ्जको तीव्र विकास हुने विश्वास व्यक्त गरे । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह (ड्राइपोर्ट) र वीरगञ्ज भन्सार कार्यालय जस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ वीरगञ्जले लिन नसकेको उनको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगञ्जसँग पर्सा र बारा जिल्ला पनि जोडिएको उल्लेख गर्दै सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धराशायी हुँदै गएको बताए ।

तीनै तहका करको बोझले व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगञ्ज आफैंमा आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गरे ।

वीरगञ्जको पहिचान जोगाउन यहाँका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवद्र्धन आवश्यक रहेको उनले जनाए ।

पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै