बारा । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा बाराले ६८ औं वार्षिकोत्सव मनाएको छ ।
व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार अधिकारीको अध्यक्षता तथा सूर्य नेपाल प्रा.लिका व्यवस्थापक सुरेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा बिहीबार ६८ औं वर्षमा पहिलोपटक वार्षिकोत्सव मनाइएको हो ।
बाराको जीतपुरसिमरा वडा नं २ मा रहेको विद्यालयकले हालसम्मको प्रगति समेटेको स्मारिका समेत विमोचन गरेको छ ।
विद्यार्थीहरुले कविता वाचन, विभिन्न साँस्कृति झल्कने गीत तथा नृत्य पस्केका कार्यक्रममा लागू औषध विरुद्धको जनचेतनामूलक लघु नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम सुरु गर्नुपूर्व थरीथरीका भेषभुषामा सजिएका विद्यार्थी र शिक्षकहरुले प्रभातफेरी मार्फत सिमरा बजार परिक्रमा गरेका थिए ।
दुईदिने कार्यक्रमको योजनानुसार वार्षिकोत्सव उद्घाटन समारोहमा उत्साहित विद्यार्थीहरुले अतिथिहरुको स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न खेलका विजेता छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रधानाध्यापक शंकरकुमार आचार्यले विद्यालयको सुरुवाती चरणदेखि हाल सम्मको उपलब्धि, शैक्षिक गतिविधि, विद्यालयको चुनौती र अवसरबारे जानकारी गराएका थिए । उनले दाता तथा सहयोगीहरुलाई आभार समेत व्यक्त गरे ।
विद्यार्थीका तर्फबाट कक्षा ९ का छात्र पंकजकुमार सहनीले स्वागत मन्तव्य तथा शिक्षिका सीता अधिकारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्यव इकाइ बाराका प्रमुख अशोक रौनियार, जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, छिमेकी विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्यहरु, सञ्चारकर्मी, शिक्षक, अभिवावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।