ट्रेन्डिङ

बारामा प्रहरीकै हातबाट सरकारी पेस्तोल गायब, सईदेखि कार्यालय सहयोगीसम्म १२ जना प्रहरी तानिए

वीरगन्ज । बारामा नेपाल प्रहरीकै अधिकृतले बोकेको सरकारी हतियार रहस्यमय रूपमा हराएपछि मधेस प्रदेश प्रहरी प्रशासन तरंगित बनेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय (इप्रका) कबहीमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्म १२ जना प्रहरी कर्मचारीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा तानेर अनुसन्धान सुरु गरिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार इप्रका कबहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएम सरकारी पेस्तोल हराएपछि घटनाको गम्भीर छानबीन थालिएको हो ।

सोही क्रममा त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको हो ।

मधेस प्रहरीका एसपी भेष रिजालका अनुसार, प्रहरीको सरकारी हतियार हराउनु अत्यन्तै संवेदनशील विषय हो, त्यसैले इप्रका कबहीको सम्पूर्ण यूनिटलाई प्रदेश प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ ।

उनका अनुसार हाल कबही क्षेत्रमा अर्को प्रहरी यूनिट खटाइसकिएको छ र सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिइएको छ ।

घटना कसरी बाहिर आयो ?

घटना पुस ११ गते रातिको हो । सई मिश्रले रात्री गस्तीका क्रममा बोकेको सरकारी पेस्तोल हराएको भनी प्रहरी कार्यालयमा बयान दिएका थिए । तर हतियार कहाँ, कहिले र कुन परिस्थितिमा हरायो भन्ने विषयमा स्पष्ट विवरण दिन नसक्दा घटना थप शंकास्पद बनेको छ ।

सीमा क्षेत्र नजिकै प्रहरीकै हातबाट हतियार हराएपछि मधेस प्रदेश प्रहरीले यसलाई सामान्य घटना नभई सम्भावित गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको छ ।

त्यसपछि घटनाको निष्पक्ष छानबीनका लागि विशेष समिति गठन गर्ने निर्णय गरिएको हो ।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार पुस १५ गते एसपी भेष रिजालको नेतृत्वमा चार सदस्यीय छानबीन समिति गठन गरिएको छ ।

समितिलाई सबै कोणबाट अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ ।

अनुसन्धान तीव्र, बयानमा विरोधाभास

एसपी रिजालको नेतृत्वमा गठित छानबीन समितिले पेस्तोल हराएको भनिएको क्षेत्रको स्थलगत अध्ययन तथा अनुसन्धान पूरा गरी प्रदेश प्रहरी कार्यालय फर्किसकेको छ ।

त्यसपछि इप्रका कबहीमा कार्यरत सबै प्रहरीलाई झिकाएर छुट्टाछुट्टै बयान लिइँदै अनुसन्धान अघि बढाइएको छ ।

छानबीन समितिका संयोजक एसपी रिजालका अनुसार प्रारम्भिक अनुसन्धानमा अधिकांश प्रहरी कर्मचारीले गस्तीका क्रममा हतियार हराएको बताएका छन् ।

तर सई मिश्रले भने ब्यारकबाटै हतियार हराएको बयान दिएको जनाइएको छ ।

बयानहरू आपसमा नमिल्ने र चित्तबुझ्दो नदेखिएकाले घटनालाई थप शंकास्पद मानी अन्य पाटोबाट पनि सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हतियार लुटिएको आशंका कायमै

प्रहरी स्रोतका अनुसार सई मिश्रले बोकेको सरकारी पेस्तोल तस्कर समूहले खोसेर लगेको आशंका गरिएको छ ।

यद्यपि, हतियार लुटिएको भन्ने विषयमा प्रदेश प्रहरीले औपचारिक पुष्टि भने गरिसकेको छैन ।

तर हतियार लुटिएको सम्भावनालाई समेत केन्द्रमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतको दाबी छ ।

यदि प्रहरीकै लापरबाही वा संलग्नताका कारण हतियार हराएको पुष्टि भएमा सम्बन्धित सबै प्रहरीमाथि कडा विभागीय तथा कानुनी कारबाही गरिने मधेस प्रहरीले स्पष्ट पारेको छ ।

सरकारी हतियार नै सुरक्षित नरहने अवस्था देखिनु गम्भीर विषय भएको भन्दै यसले आम नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको प्रहरीका पूर्वअधिकारीहरूको धारणा छ ।

अब छानबीन समितिको प्रतिवेदनले यो रहस्यमय घटनाको वास्तविकता कहिले उजागर गर्ने हो भन्ने चासो बढ्दै गएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै