ट्रेन्डिङ

आन्दोलनका बखत फरार दुई कैदीलाइ पर्सा प्रहरीले पक्राउ गर्‍यो

वीरगन्ज । पर्सा प्रहरीले जेनजी आन्दोलनका बखत फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका फरक–फरक मुद्दाका दुई जना कैदीलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार बाराको विश्रामपुर गाउँपालिका–४ का २५ वर्षीय प्रदेशी भन्ने सुदामा पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका अवस्थामा आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय काठमाडौंबाट फरार भएका थिए।

उनलाई वीरगन्ज महानगरपालिका–१५ स्थित भिष्वा टोलबाट पक्राउ गरी कारागार कार्यालय वीरगन्ज बुझाइएको प्रहरीले जनाएको छ।

यसैगरी बाराको परवानीपुर गाउँपालिका–२ का ३२ वर्षीय विवेकलाल साह कानु बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन हेटौंडाको आदेशअनुसार ५० हजार रुपैयाँ जरिवाना तिर्न नसकी केन्द्रीय कारागार सुधारगृह (भद्रगोल) काठमाडौंमा सजाय भोगिरहेका अवस्थामा आन्दोलनकै बखत फरार भएका थिए।

उनलाई पनि वीरगन्ज महानगरपालिका–४ स्थित बिर्ता टोलबाट पक्राउ गरी कारागार कार्यालय वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार फरार प्रतिवादी तथा कैदीहरूको खोजी कार्यलाई निरन्तरता दिइएको र कानुन उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै