बारा । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा बारा जिल्लाका लागि केन्द्रीय प्रतिनिधि बिमलेन्द्र निधिको उपस्थितिमा काठमाडौंमा भएको लिखित सहमति कार्यान्वयन नहुँदा बारामा कांग्रेसको आन्तरिक विवाद पुनः चर्किएको छ।
विवाद समाधानका लागि ठूला प्रतिबद्धता व्यक्त गरिए पनि सहमति भएको केही समयमै त्यसको उल्लंघन भएको आरोप लागेपछि केन्द्रीय प्रतिनिधिको भूमिकामाथि प्रश्न उठेको हो।
बारा जिल्लाको संगठनात्मक समस्या समाधान गर्ने उद्देश्यले २०८२ असार १६ गते काठमाडौंको मध्य बानेश्वरस्थित बिमलेन्द्र निधिको निजी निवासमा बैठक बसेको थियो।
बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी, जिल्ला सभापति राजेश राय यादव, क्षेत्रीय सभापतिहरू विजय शंकर यादव, राम प्रवेश यादव, प्रभात कुमार चौरसिया र सुनिल कुमार गुप्ताको सहभागिता रहेको थियो।
बैठकले क्रियाशील सदस्यता नवीकरण सम्बन्धी सात बुँदे निर्णय सर्वसम्मतिमा गरेको थियो।
बैठकको निर्णयअनुसार केन्द्रबाट जिल्लामा पठाइएका पुराना क्रियाशील सदस्यताको सूची र नवीकरण फारम प्रक्रिया अनुसार नवीकरण गर्ने १४औँ महाधिवेशनका बेला स्थगित भएका वडाहरूको सदस्यता केन्द्रीय छानबिन समितिको निर्णयअनुसार १५औँ महाधिवेशनमा सहभागी हुने गरी नवीकरण गर्ने सहमति भएको थियो।
त्यसैगरी क्षेत्र नम्बर १ मा हालसम्म फारम वितरण नभएकाले वडा तहसम्म तत्काल वितरण गर्ने, क्षेत्र नम्बर २ मा वडा तहसम्म वितरण बाँकी रहेकाले प्रक्रिया पूरा गर्ने, क्षेत्र नम्बर ३ र ४ मा वडा तहसम्म वितरण भइसकेकाले नवीकरण प्रक्रिया तत्काल सम्पन्न गर्ने निर्णय गरिएको थियो।
साथै केन्द्रीय छानबिन समितिले १४औँ महाधिवेशनका लागि स्थगित गरी १५औँ महाधिवेशनमा सहभागी हुने निर्णय गरेका नामावली र फारम केन्द्रीय कार्यालयबाट तत्काल प्राप्त गरी, ती प्राप्त भएपछि केन्द्रीय प्रतिनिधि बिमलेन्द्र निधिको उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक बोलाउने निर्णय पनि बैठकले गरेको थियो।
उक्त बैठकमा सबै क्षेत्र, प्रदेश, पालिका र वडाका सभापतिहरूको अनिवार्य उपस्थिति गराउने सहमति भएको थियो।
क्रियाशील सदस्यताको प्रमाणपत्र (कार्ड) केन्द्रबाट प्राप्त नभएकाले ती प्रमाणपत्र तत्काल उपलब्ध गराउन केन्द्रीय कार्यालयसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको थियो।
तर उक्त लिखित सहमति विपरीत जिल्ला सभापति राजेश राय यादवले क्षेत्र नम्बर १ का लागि नयाँ र नवीकरण फारम क्षेत्रीय सभापतिलाई नदिई आफ्ना निकट वडा सभापतिहरूलाई मात्र वितरण गर्न थालेको आरोप लगाइएको छ।
क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि सिकेन्द्र पास्वानले यसरी क्षेत्रीय कार्यसमितिलाई नै बञ्चित गर्ने गरी फारम वितरण गरिएको गुनासो गरेका छन्।
जिल्ला सभापति पदका प्रत्यासी शम्भु बहादुर बुढाथोकीले पनि विधान विपरीत एकोहोरो ढंगले फारम वितरण गरेर बारामा अधिवेशन भाँड्न खोजिएको आरोप लगाएका छन्।
उनले क्षेत्रीय कार्यसमितिलाई बाइपास गरेर गरिएको प्रक्रिया तत्काल रद्द नगरिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
लिखित सहमति कार्यान्वयन नहुँदा र केन्द्रीय प्रतिनिधिको उपस्थितिमै सहमति उल्लंघन भएको आरोप लागेपछि बारामा नेपाली कांग्रेसभित्र विश्वासको संकट बढ्दै गएको देखिएको छ।
यस विषयमा केन्द्रीय प्रतिनिधि बिमलेन्द्र निधि तथा जिल्ला सभापति राजेश राय यादवको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन।