बारा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा लायन्स क्लब अफ कलैया बाराले संचालित निशुल्क कपडा बैंक कलैयामा २५० थान न्यानो कपडा वितरण गरेको छ।
सदरमुकाम कलैयामा आयोजित विशेष कार्यक्रममा कपडा वितरण कार्य सफलतापूर्वक सम्पन्न गरिएको बैंकले जनाएको छ।
कार्यक्रमका संयोजक लायन बिजय जयस्वाल र क्लबका अध्यक्ष अधिवक्ता लायन सुर्यजित सिंहले संयुक्तरूपमा कपडा बैंकका संरक्षक साजिर मन्सूरलाई न्यानो कपडा हस्तान्तरण गर्दै वितरण अभियान प्रारम्भ गरेका थिए।
संयोजक जयस्वालका अनुसार आर्थिक रूपमा कमजोर, विपन्न तथा सहयोग आवश्यक समुदायलाई जाडो मौसमका लागि अत्यावश्यक ज्याकेट, स्वेटर, टोपी, मोजा लगायतका न्यानो कपडा उपलब्ध गराइएका छन्।
मानव अधिकार दिवसले बोकेको समानता, सहयोग र मानवीय संवेदनशीलताको सन्देशलाई व्यवहारमै उतार्नु नै अभियानको मुख्य उद्देश्य रहेको उनले बताए।
नागरिक समाज बाराका महासचिव तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले लायन्स क्लबको पहलले जाडोमा समस्यामा परेका नागरिकलाई ठूलो राहत पुगेको प्रतिक्रिया व्यक्त गर्दै क्लबप्रति धन्यवाद ज्ञापन गरे।
लायन्स क्लब अफ कलैयाका अध्यक्ष सिंहले आगामी दिनमा पनि न्यानो कपडा वितरण लगायत विभिन्न सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
निशुल्क कपडा बैंकका संरक्षक तथा बिश्वास एफएमका प्रबन्ध निर्देशक साजिर मन्सूरले लायन्स क्लबलाई धन्यवाद दिंदै सहयोग अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजान आग्रह गरे।
उनले क्लबले कलैयामा सञ्चालन गर्दै आएको सामाजिक सेवाले समुदायमा सकारात्मक प्रभाव पारेको बताए।
कार्यक्रममा ग्रामीण उत्थान अभियानकी अध्यक्ष माधुरी गिरि, लायन्स क्लबका सचिव मुकेश गुप्ता, प्रथम उपाध्यक्ष सुबाष जयस्वाल, दोस्रो उपाध्यक्ष बृजकिशोर साह, कोषाध्यक्ष अजय कुमार सरार्फ, संस्थापक अध्यक्ष दिलीप चौधरी, पूर्व अध्यक्ष भरत अग्रवाल, निबर्तमान अध्यक्ष प्रदिप साह (गोल्डेन), भोला सरार्फ, श्याम खेतान, राजन साह, समीर अन्सारी, राजेश पण्डित, जसपा नेपालका केन्द्रिय सदस्य कलाम अन्सारी, जनमत पार्टी निजगढ नगर कमिटीका अध्यक्ष मोजहर मन्सूर, युवा समाजसेवी सबिर मन्सूर, सहजकर्ता अमृता कुश्वाहालगायतको उपस्थिति थियो।