कलैया । दिगो भविष्य निर्माणमा हरित विद्यालयको भूमिकाबारे कलैयामा आज आयोजित अन्तरक्रिया कार्यक्रमले विद्यालयमै वातावरण मैत्री व्यवहार र संरचना विस्तार गर्नुपर्ने निष्कर्ष निकालेको छ।
कलैया उपमहानगरपालिकाको सभाहलमा कारखाना समूहको आयोजनामा भएको कार्यक्रममा स्थानीय प्रतिनिधि, शिक्षक, वातावरणविद् र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले वातावरणमैत्री विद्यालय निर्माण स्थानीय प्रयाससँगै विश्वव्यापी दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा असर पर्ने बताउँदै विद्यालयमा हरियाली विस्तार, फोहोर व्यवस्थापन, सुरक्षित खानेपानी, ऊर्जा संरक्षण र वातावरण शिक्षा जस्ता अभ्यास अनिवार्य रूपमा लागू गर्नुपर्ने धारणा राखे।
उनका अनुसार विद्यालय, विद्यार्थी, अभिभावक र स्थानीय सरकारको संयुक्त प्रयास भए मात्र हरित विद्यालय अभियान सफल हुन्छ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव यादवले विद्यालय परिसरमा वृक्षरोपण, प्लास्टिक न्यूनीकरण, सौर्य ऊर्जा प्रवर्द्धन, वातावरण शिक्षा र विद्यार्थी क्लब सक्रियता जस्ता कामलाई नियमित बनाउँदै ‘हरित विद्यालय मोडेल’ अन्य विद्यालयमा पनि विस्तार गरिने प्रतिबद्धता जाहेर गरे।
कार्यक्रममा कारखाना समूहका मधेस प्रदेश कार्यक्रम संयोजक निरज कुमार मिश्रले हरित विद्यालय कार्यक्रम निर्देशिका–२०७५ का प्रावधानहरूबारे सहभागीहरूलाई जानकारी गराए।
यस्तै, बन्यजन्तु संरक्षण संघ नेपालको वरिष्ठ कार्यक्रम अधिकृत राजेश्वर रिजालले हरित विद्यालय मोडेलले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, जीवन–कौशल विकास, वातावरण संरक्षणबारे सचेतना बढाउने, उर्जा–किफायती संरचना निर्माण र विद्यालयको आर्थिक दिगोपनासमेत मजबुत बनाउने बताए।
उनले हरित विद्यालय अभियान प्रभावकारी बनाउन यसलाई अनिवार्य रूपमा पाठ्यक्रमसँग जोडिनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको अन्त्यमा “हरित विद्यालय : स्थानीय प्रयास, विश्वव्यापी प्रभाव” अभियानलाई निरन्तरता दिने र आगामी दिनमा यसलाई उपमहानगरपालिका–स्तरीय कार्यक्रमका रूपमा विस्तार गर्ने घोषणा गरिएको थियो।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समिति प्रतिनिधि, बृन्दा देवानसहित बन्यजन्तु संरक्षण संघका अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र स्थानीय सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको नगरपालिकाले जनाएको छ।