काठमाडौँ। टीयू क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज चार टोली बीच सनसनीपूर्ण प्रतिस्पर्धा हुँदैछ।
पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने छन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्।
आजको पहिलो खेल दिउँसो ११:४५ बजे र दोस्रो खेल अपराह्न ४ बजे निर्धारित गरिएको छ।
रोहितकुमार पौडेलकै नेतृत्वमा रहेका लुम्बिनी लायन्स तीन खेलमा एक जितसहित अंक तालिकाको छैटौँ स्थानमा छ र आजको खेलमा जितसँगै पुनरागमन गर्ने लक्ष्यमा छ।
उता, दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम रोयल्स भने लगातार तीन खेल जितेर ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
अनिल शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स र कुशल भुर्तेल नेतृत्वको पोखरा एभेन्जर्स पनि आजको खेलमा पहिलो जितको खोजीमा रहनेछन्।
यी दुवै टोली हालसम्म दुवै खेलमा पराजित हुँदै दबाबमा छन्।
यसैबीच, जनकपुर बोल्ट्स आजको खेल विशेष सामाजिक अभियानसहित खेल्दैछ।
टोलीका सबै खेलाडीले आमाको नाम लेखिएका विशेष जर्सी लगाउने व्यवस्था गरिएको व्यवस्थापक निरोज खतिवडाले बताए। खेलपछि ती जर्सी बिक्रीका लागि राखिने जनकपुरले जनाएको छ।
जर्सी बिक्रीबाट संकलित रकम ‘आमा समूह’लाई सहयोगस्वरूप हस्तान्तरण गरिने खतिवडाले जानकारी दिएका छन्।