सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएको घटना सार्वजनिक भएको छ।
मंगलबार स्थानीयले जलेको अवस्थामा फेला पारेपछि यो घटना बाहिर आएको हो।
मंगलबार साँझ करीब ७ बजेर ४० मिनेटतिर स्थानीयले आगोले जलेको अवस्थामा एक पुरुष भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी टोली घटनास्थल पुगेको थियो।
सर्लाही प्रहरीका अनुसार गम्भीररूपमा जलेका ती पुरुषलाई तत्कालै लालबन्दीस्थित स्वास्थ्य संस्थामा पुर्याइएको थियो।
शरीरको झण्डै ९० प्रतिशत भाग जलेका कारण अवस्था अत्यन्तै गम्भीर भएको बताइएको थियो।
त्यसपछि उनलाई थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरी बताउँछ ।
तर उपचारकै क्रममा बुधबार राति करिब २ बजेर १० मिनेटतिर उक्त पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनी झापा गौरादह नगरपालिका -२ निवासी सूर्य प्रसाद पोखरेल रहेको पुष्टि भएको छ ।
घटना किन र कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको विस्तृत अनुसन्धान, पारिवारिक पृष्ठभूमि र मानसिक अवस्थासहितका सबै पक्षमा थप बुझ्ने प्रक्रिया जारी रहेको जनाएको छ।