ट्रेन्डिङ

परिवारको कस्टडीमै फर्काइएकी तरिनाको घरमै हत्या, सबै सदस्य रातारात बेपत्ता

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक १९ वर्षीया महिलाको विभत्स हत्या भएको घटना बाहिरिएको छ ।

भुसाहा निवासी शेख आदिलकी पत्नी तरीना खातुन घरमै खाडल खनी पुरिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेकी छन्।

गएको १९ गते भतिजोसँग भागेकी खातुनलाई प्रहरीले घरपरिवारको जिम्मा लगाएको थियो । खातुन आफ्नै भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग भागेकी थिइन्।

विवाहेत्तर सम्बन्धका कारण विवाद बढेपछि दुवैजना इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएका थिए।

त्यसपछि प्रहरीले उनीहरूलाई परिवारको जिम्मा लगाएर छुट्टाएको थियो। यही घटनाले २० दिनपछि घटेको हत्याकाण्डको पृष्ठभूमि बनाएको सुरुवाती अनुसन्धानबाट बताइएको छ।

घरभित्रै खाडल खनेर पुरिएको अवस्थामा शव

मंगलबार बिहान घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो।

टोलीले खातुनलाई घरभित्रै भुस राख्ने स्थानमा खाडल खनेर पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट छ र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलबाट प्रयोग भएको एउटा चक्कु समेत बरामद भएको छ।

श्रीमान् विदेशमा, घरका सदस्य सबै फरार

घटनाका बेला खातुनका श्रीमान् शेख आदिल साउदी अरबमा वैदेशिक रोजगारीमा छन। हत्या प्रकरण सार्वजनिक भएपछि उनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार रहेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए।

उनीहरू खातुनकी डेढ वर्षीया छोरी मोहम्मद आरिफलाई समेत लिएर बेपत्ता भएको प्रहरी बताँउछ ।

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी तीव्र पारिएको छ भने घटनाका सबै कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै