बारा । बाराको सिमरामा कर्फयू लागेको छ ।
जिल्ला प्रशासन कार्यालयले बिहिबार दिउँसो १ बजेदेखि लागू हुने गरि कर्फ्यू आदेश जारी गरेको हो । जेनजी प्रदर्शन तथा जनधनको क्षति हुन नदिन कर्फ्यू लगाइएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीले आन्दोलनले निम्त्याउन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै बेलुका ८ बजेसम्म कर्फ्यू लगाइएको जनाए । उनका अनुसार सिमरा विमानस्थल तथा जितपुरसिमरा आसपास क्षेत्रको परिस्थिति साम्य पार्न कर्फ्यू लगाइएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यू जारी गरिएको उनले बताए । कर्फ्यू अवधिभर तोकिएको स्थानमा आवातजावत, भेला, सभा, बैठक, जुलुस तथा कुनै प्रकारका प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।
कुन कुन स्थानमा कर्फ्यू ?
प्रशासनले वीरगन्ज-पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ बायाँ ५०० मिटरसम्म कर्फ्यू लगाइएको जनायो । यसैगरि सिमरा विमानस्थलको ५०० मिटर वरपरसम्म कर्फ्यू जारी गरिएको बताएको छ ।
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका साधनहरु, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाइ टिकटका आधारमा हवाइ यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीहरुले सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।