ट्रेन्डिङ

कलैयामा १४औँ राष्ट्रिय कर दिवस सम्पन्न, उत्कृष्ट करदाता ‘शिव पार्वती एग्रो’ सम्मानित

बारा । कलैया–७ स्थित करदाता सेवा कार्यालय कलैयाले १४औँ राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रमसहित धुमधामपूर्वक मनाएको छ।

करप्रति जनचेतना अभिवृद्धि र कर प्रणालीलाई आधुनिक तथा पारदर्शी बनाउने उद्देश्यसहित सोमबार विशेष समारोह आयोजना गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी करदाताहरूले कर प्रशासनलाई झन् सरल, पारदर्शी र करदाता–मैत्री बनाउन सुझाव दिएका थिए।

कार्यालय प्रमुख अन्जु कुमारी कर्णले पछिल्ला सुधार, सेवा विस्तार तथा डिजिटल कर प्रणालीका फाइदाबारे विस्तृत जानकारी दिँदै नियमितरूपमा कर तिर्ने करदातालाई सम्मान प्रदान गरिएको बताइन्।

कर्णले कर शिक्षा कार्यक्रमलाई विद्यालय, उद्योग–व्यवसाय तथा समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “करदाता सेवा कार्यालय खारेजीबारे पत्र नआएकाले हालसम्मका सबै सेवा यथावत् जारी छन्,” भनिन्।

यस वर्षको उत्कृष्ट करदाता श्री शिवपार्वती एग्रो प्रालि, प्रसौनी–४ बारालाई सम्मानपत्रसहित सम्मान गरिएको नासु रमेश प्रसाद कुर्मीले जानकारी दिए।

उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहले करदातालाई सहज सेवा नहुँदासम्म कार्यालय कलैयाबाटै सेवा निरन्तर राख्नुपर्नेमा जोड दिए।

स्थानिय उद्योगी–व्यापारी, करदाता, कर्मचारी तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा कर प्रणालीप्रति जागरुकता, करदाताको दायित्व र अधिकारबारे समेत जानकारी गराइएको थियो।

करदाता सेवा कार्यालयले कर दिवसलाई संस्थागत गर्दै हरेक वर्ष अझ प्रभावकारी र जनमुखी कार्यक्रमसहित मनाइने जनाएको छ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बाराका महासचिव रामाशिष साह कानु, कोषाध्यक्ष अजय कुमार बुढा, विनोद तुलाधर, नासु रमेश प्रसाद कुर्मी, रणेश्वर कर्ण, प्रशुराम काफ्ले, मुनेन्द्र प्रसाद यादव, कर सहयोगी चन्दन ठाकुरसहित विभिन्न करदाताको उपस्थिति थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै