बीरगन्ज । रौतहट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट प्रहरीले शनिबार राति दुइजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन् ।
उनीहरुको साथबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा त्यसमा सवार उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।