Close This

ट्रेन्डिङ

रौतहट प्रहरीको चाडपर्व लक्षित १४ बुँदे अनुरोध पत्र, के–के छन् सुझाव ?

बीरगन्ज । रौतहट प्रहरीले चाडपर्वको समयमा लामो अवधिभर घर पसल छोडेर बाहिर जानु परेमा छिमेकीलाई खबर गरेर जान आग्रह गरेको छ ।

प्रहरीले आइतबार बिहान एक विज्ञप्ती जारी गर्दै चाडपर्व मनाउन घर तथा पसल छाडेर बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गरेर मात्र जान अनुरोध गरेको हो ।

दसैँ, तिहार तथा छठ पर्वको अवसरमा विभिन्न आपराधिक गतिविधि हुन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको हो ।

यससँगै जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित विभिन्न १४ बुँदे अनुरोध पत्र जारी गरेको छ ।

प्रहरीले जारी गरेको अनुरोध पत्रमा घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न, घर तथा पसलहरुमा सिसिटिभी जडान गरी सुरक्षित हुन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, मादक पदार्थ सेवन तथा लागु औषधको सेवन गरी सवारी नचलाउन अनुरोध गरेको छ ।

यसैगरी चोरी, लुटपाटबाट बँच्न अपरिचिति व्यक्तिसँग नगद कारोबार नगर्न, सामाजिक सञ्जालमा व्यक्तिगत तथा यात्राको विवरण विवरण अद्यावधिक नगर्न, लङगुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत रहन, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, मोबाइलको ओटीपी गोप्य राख्न तथा चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङकको मात्र चेक जारी गर्न आग्रह गरेको छ ।

यस्तै प्रहरीले सुन र डलर साट्ने नाममा नक्कली सुन र कागजको पोको देखाइ डलर भनी झुुक्याइ हुने ठगीबाट बँच्न, म्यासेन्जर, भाइबर र ह्राट्स्याप लगायतका सामाजिक सञ्जालहरुमा चिठ्ठा पर्यो भनी आउने म्यासेजको विश्वास नगर्न, पटाका, भुइचम्पा, रकेट जस्ता बिस्फोटक पदार्थको प्रयोग र बेचविखन नगर्न, कालोबजारी, अवैध मदिरा बिक्री वितरण, चन्दा, अपहरण, फिरौती र देह व्यापारको सुचना समयमै दिन अपिल गरेको छ ।

नगद, बहुमूल्य सामान, गरगहना र महंगा मोबाइल फोनसहित भिडभाडमा नजान तथा धम्कीपूर्ण फोन आएमा सम्भव भएसम्म मोबाइल रेकर्ड गरी तुरुन्त प्रहरीमा खबर गर्न सूचनामार्फत प्रहरीले अपिल गरेको छ ।

आपराधिक गतिविधिहरु भएको थाहा पाए तुरुन्त प्रहरीको कन्ट्रोल कक्ष १००, ९८५५०४०९९९, ट्राफिक कन्ट्रोल १०३, ९८५५०४१३०१, ९८५५०९००५०, महिला तथा बालबालिका खोज तलास केन्द्र भृकुटीमण्डप १०४ र जिल्ला प्रहरी कार्यालय रौतहट ९८५५०९०३७४ मा सम्पर्क गर्न रौतहट प्रहरी प्रवक्ता दिपक कुमार रायले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै