बारा । बाराको बरियारपुरस्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयमा पहिलो वार्षिक प्रविधि प्रदर्शन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रम कोइका/सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, जनजागरण युवा क्लब बाराको आयोजनामा तथा देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिका बीचको समन्वयमा सम्पन्न भएको हो ।
गुणस्तरीय र समावेशी शिक्षा, रोजगारीमैत्री सीप विकास र बालबालिका तथा युवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सञ्चालित ‘प्रेरणा परियोजना’ अन्तरगत कार्यक्रम भएको हो । कार्यक्रममा सम्बन्धित पालिकाका ७ वटा विद्यालयका विद्यार्थी तथा प्राविधिक शिक्षक–शिक्षिका सहित करिब २५० जना सहभागी थिए ।
कार्यक्रममा स्मार्ट चेली, रोबोटिक्स एसोसिएशन अफ नेपाल तथा कारखाना समूहका प्रतिनिधिहरूले बालबालिकामा प्रविधिप्रति अभिरुचि जगाउने उद्देश्यले विभिन्न प्रविधिसम्बन्धी सामग्रीहरू प्रदर्शन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले २१ औँ शताब्दीमा प्रविधिक शिक्षा अनिवार्य भएको बताउँदै सबै सरोकारवालाको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे ।
आयोजक संस्थाका अध्यक्ष भैयाराम यादवले यो कार्यक्रम पहिलो पटक आयोजित भए पनि आगामी वर्षहरूमा यही क्षेत्रका बालबालिकाले नै निर्माण गरेका नवप्रवर्तनहरू प्रदर्शन गरिने बताए। साथै उनले विद्यार्थीलाई निर्धक्क रूपमा जिज्ञासा राख्न प्रेरित गरे ।
सेभ द चिल्ड्रेनका विकासका लागि प्रविधि सल्लाहकार सचिन सापकोटाले परियोजनाको मुख्य उद्देश्यबारे प्रकाश पार्दै प्रविधिसम्बन्धी सीप विकासले बालबालिकाको भविष्यमा महत्वपूर्ण प्रभाव पर्ने बताए ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक चन्द्र साह, मिन जी, अन्य कर्मचारीहरू, जनजागरण युवा क्लबका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा. श्रीनिवास बैठा, वरिष्ठ परियोजना संयोजक कृष्णप्रसाद यादव लगायत सरोकारवाला एवं शिक्षक–विद्यार्थीको उपस्थिति रहेको थियो ।