बारा । काठमाडौंको कीर्तिपुरबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई बारामा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला नुवाकोट तारकेश्वर गाउँपालिका–३ बस्ने विनोद श्रेष्ठको नाममा दर्ता भएको बागमती प्रदेश ०२–०४० प ४५६७ नम्बरको २२० सिसी क्षमताको बजाज पल्सर मोटरसाइकल कीर्तिपुर नगरपालिका–६ मञ्जु श्रीपार्क क्षेत्रबाट चोरी भएको थियो।
श्रेष्ठले गत जेठ २५ गते दिउँसो ३ बजे मोटरसाइकल पार्किङमा राखेको अवस्थामा हराएको भन्दै प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएका थिए।
उक्त मोटरसाइकल खोजतलास गर्ने क्रममा बारा जिल्लाको बारागढी गाउँपालिका–३ श्रीपुरा टोलमा खटिएको प्रहरी टोलीले यही २१ गते बेलुका ९ बजे चोरीको मोटरसाइकल बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा फर्जी नम्बर प्लेट (बागमती प्रदेश ०२–०४० प २३१९) प्रयोग गरी मोटरसाइकल चलाइरहेको अवस्थामा चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बारा जिल्लाको बारागढी गाउँपालिका–३ मुर्किपलिया बस्ने २१ वर्षीय सुरेश महतो रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका महतोसहित बरामद मोटरसाइकललाई आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।