ट्रेन्डिङ

नेता कोइरालाको धारणा: कांग्रेसको महाधिवेशन पुस मसान्तभित्रै सम्पन्न हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंमा आयोजित जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरुसँगको अनौपचारिक छलफलमा पार्टीको १५औँ महाधिवेशन समयसीमा र नेतृत्वको विषयमा धारणा राखेका छन्।

डा. कोइरालाले भने, “नेपाली कांग्रेसले १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा म धेरै पहिलेदेखि नै जोड दिँदै आएको छु। अहिलेको परिस्थितिका कारण यदि मंसिरमा गर्न सकिएन भने पनि कुनै हालतमा पुस मसान्तभित्र गरिसक्नुपर्छ। महाधिवेशन आउँदो आम निर्वाचनभन्दा अघि सम्पन्न हुनुपर्छ, जसले नयाँ र ताजा नेतृत्वमा चुनावी तयारी गर्न सहयोग पुर्‍याओस्।”

उनले महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगको तालिकासँग मिल्ने गरी गर्नुपर्नेमा जोड दिए। साथै, पार्टीभित्र एकता, मेलमिलाप, गुट र उपगुटको अन्त्य हुनु आवश्यक रहेको बताउँदै भने, “हामी सबै एकता, जिम्मेवारी र संयमता साथ अघि बढ्नुपर्छ। पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ। कसैले मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुँदैन। म पार्टीमा एकता र मेलमिलाप चाहन्छु।”

डा. कोइरालाले देशभरका इमान्दार, निष्ठावान् र निरन्तर क्रियाशील सदस्यहरुको योगदानलाई पनि स्मरण गर्दै, पार्टीका लाखौँ शुभेच्छुक र बाह्य पक्षले अहिले नेपाली कांग्रेसको निर्णयलाई हेरेर पर्खिरहेका रहेको बताए।

उनका धारणा अनुसार, कांग्रेसले आगामी महाधिवेशन र नेतृत्व परिवर्तनमार्फत पार्टीलाई बलियो बनाएर आगामी निर्वाचनका लागि तयारी गर्नुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै