ट्रेन्डिङ

भोली बिहान ६ बजेदेखि बुधबार बेलुका ६ बजेसम्म मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमाका नाका बन्द हुने

जनकपुर । बिहारमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमामा चार दिनका लागि आवागमन रोक्ने निर्णय गरिएको छ।

मधेस प्रदेशका धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सप्तरी, सिरहा, रसुवा र अन्य सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनाअनुसार, भोली शनिबार (कार्तिक २२ गते) बिहान ६ बजेदेखि बुधबार (कार्तिक २५ गते) बेलुका ६ बजेसम्म सीमा नाका पूर्ण रूपमा बन्द रहनेछ।

यस अवधिमा इमरजेन्सीका सवारीसाधन बाहेक कुनै पनि व्यक्तिको हिँडडुल वा सवारी आवागमन अनुमति नहुने जनाइएको छ। सुरक्षा संवेदनशीलता र चुनावलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन यो व्यवस्था गरिएको हो।

धनुषा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचन हुन लागेकोले शान्ति सुरक्षा कायम राख्न मधेस प्रदेशसँग जोडिएका सबै सीमाका नाकामा मानवीय तथा सवारी आवागमन पूर्ण रूपमा रोक्नुपर्ने भएकोले यो सूचना जारी गरिएको हो।”

प्रशासनका अनुसार सीमा नाका बन्द रहँदा औषधि उपचार, एम्बुलेन्स सेवा वा अत्यावश्यक सामग्री ढुवानीमा भने अवरोध नहुने व्यवस्था मिलाइएको छ। सामान्य आवागमन र व्यापारिक गतिविधि भने बुधबार बेलुका ६ बजेदेखि मात्र पुनः सुचारु हुने जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै