जनकपुर । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिस सिंहले आज शिक्षामन्त्री महावीर पुनसँग भेटघाट गरी प्रदेशको समग्र शैक्षिक अवस्थाबारे विस्तृत छलफल गरेका छन्।
शिक्षामन्त्री पुनको कार्यकक्षमा भएको उक्त भेटका क्रममा दुबै नेताबीच विद्यालयदेखि उच्च शिक्षासम्मको गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उपाय, प्रदेशका शैक्षिक चुनौतीहरू, शिक्षक अभाव, सिकाइ स्तर सुधार तथा नीतिगत सुधारका सम्भावनाबारे गहन विचार–विमर्श गरिएको थियो।
छलफलमा विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरण, व्यावहारिक र प्रविधिमुखी शिक्षा विस्तार, र विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारका विषयमा पनि जोड दिइएको पूर्वमुख्यमन्त्री सिंहले बताए ।
शिक्षामन्त्री पुनले शिक्षालाई प्रदेशको दिगो विकासको मेरुदण्डका रूपमा प्राथमिकता दिने र यसका लागि सबै पक्षले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।
भेटपछि दुबै नेताले मधेश प्रदेशमा गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।