सप्तरी । सप्तरीको छिन्नमस्ता क्षेत्रमा फैलिएको झाडापखालाप्रति मधेश प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ।
बिरामीको संख्या तीव्र गतिमा बढ्न थालेपछि मुख्यमन्त्री जितेन्द्र सोनलले स्वास्थ्य निकायहरूलाई ‘आकस्मिक कार्ययोजना’ लागू गर्न निर्देशन दिएका छन्।
यही १५ गतेदेखि ती क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेपछि मुख्यमन्त्री सोनलले प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, सप्तरीका प्रमुख जिल्ला अधिकारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र जिल्ला स्वास्थ्य प्रमुखसँग प्रत्यक्ष संवाद गर्दै तुरुन्तै नियन्त्रण र उपचार अभियान सशक्त बनाउन आदेश दिएका हुन्।
मुख्यमन्त्री सोनलले भनेका छन्, “जनताको स्वास्थ्यसँग सम्झौता अस्वीकार्य छ। प्रदेश सरकारले कुनै पनि ढिलाइ वा लापरवाही सहने छैन।”
उनले संक्रमितको उपचारमा कुनै कमी हुन नदिन आवश्यक औषधि, रोग परीक्षणका उपकरण र स्वास्थ्यकर्मी तत्काल पठाउन निर्देशन दिएका छन्।
साथै, प्रदेश स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन केन्द्रलाई स्रोत साधन परिचालन गरी गाउँ–गाउँमा जनचेतनामूलक अभियान सञ्चालन गर्न आदेश दिएका छन्।
प्रदेश सरकारले सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य विज्ञ टोली र अतिरिक्त जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ।
सरकारका अनुसार, छिन्नमस्ता र आसपासका क्षेत्रका सबै स्वास्थ्य चौकीहरूलाई चौबिसै घण्टा सञ्चालनमा ल्याइएको छ।
प्रदेश सरकारले जनतालाइ नआत्तिन पनि आग्रह गर्दै भन्यो “राज्य जनताको स्वास्थ्य सुरक्षाका लागि पूर्ण प्रतिबद्ध छ।”