ट्रेन्डिङ

नेकपा एमालेले घोषणा गर्यो ‘युथ भोलेन्टियर फोर्स’

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आइतबार औपचारिक रूपमा ‘युथ भोलेन्टियर फोर्स’को घोषणा गरेको छ।

जनसंगठन समन्वय संयन्त्रले भक्तपुरको गुण्डुमा आयोजना गरेको विशेष भेलाबाट यो फोर्स घोषणा गरिएको हो। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थिति रहेको थियो।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले फोर्सको घोषणा गर्दै यसको परिचालनका लागि आवश्यक आचारसंहिता समेत तयार पारिएको जानकारी दिए । उनले भक्तपुरबाट सुरु गरिएको यो युथ भोलेन्टियर फोर्सलाई अब काठमाडौं, ललितपुर, काभ्रे, रामेछाप लगायतका जिल्लाहरूमा पनि विस्तार गरिने बताए । यो फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूको साथ र सहयोग रहेको उनले उल्लेख गरे ।

नेता बस्नेतले अध्यक्ष ओली गुण्डुमा बस्न थालेपछि विगत दुई महिनादेखि नै उक्त क्षेत्रमा युवाहरू स्वयंसेवकको रूपमा खटिएको जानकारी दिए । उनका अनुसार यो दुई महिनाको अवधिमा २ हजार युवा खटिएका थिए र स्थानीय गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन। पुष्प श्रेष्ठ र अमित पौडेललगायतले हालसम्मको समन्वयको काम हेरिरहेको पनि उनले बताए ।

युथ भोलेन्टियर फोर्सले युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरसँग समन्वय गरी नेताहरूको सुरक्षा र अन्य आवश्यक व्यवस्थापनमा काम गर्नेछ। नेता महेश बस्नेतले विगतमा पनि युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको अनुभव स्मरण गर्दै अहिले पनि यस नयाँ फोर्सले सबै खालका अराजकता र गलत गतिविधिहरू विरुद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै