बीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आज (शनिबार) विहान ६९ औं प्रहरी दिवस मनाएको छ । नेपाल प्रहरीको संगठन खडा भएको दिनको उपलक्ष्यमा पर्सा प्रहरीले प्रहरी दिवस मनाएको छ ।
‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने नारासहित प्रहरीले दिवस मनाएको हो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
प्रहरी परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार तीन महिलासहित ७३ जनाले रक्तदान गरेका छन् । प्रहरी निरीक्षकहरु श्यामकुमार बस्नेत, मोहनजंग थापा, स्वरुप शर्मासहित प्रहरी अधिकारी तथा जवानहरु रक्तदान गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
प्रहरी दिवसकै अवसर पारेर पर्सा प्रहरीले साँझ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
आदर्शनगर रंगशालामा प्रहरी र पूर्व लागु औषध सेवनकर्ताहरुबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको कार्यक्रम राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।