ट्रेन्डिङ

सुशासन र संघीयता संस्थागत गरी मधेशलाई समुन्नत बनाउने मुख्यमन्त्री सोनलको प्रतिबद्धता

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाई सुशासन स्थापना गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज बाराको सिमरामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३ औं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

मुख्यमन्त्री सोनलले नागरिकको काँधमा जीविकोपार्जन गर्ने, सामाजिक सौहार्द कायम गर्ने, साथै देशको उन्नति गर्ने दोहोरो जिम्मेवारी रहेको बताए । उनले नेपाल र मधेश प्रदेशको भूमि स्वर्गभन्दा पनि ठूलो रहेको भावना व्यक्त गर्दै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सन्देशको स्मरण गराए ।

उनले मुलुक अहिले अत्यन्तै ‘तरल अवस्थामा’ रहेको स्वीकार गरे । देशमा कुशासन, व्यथिति र भ्रष्टाचार बढेको भन्दै अहिले सम्पूर्ण नेपालीको ध्यान केन्द्रित भएको र जेनजी समूहका युवाहरूले समेत आन्दोलनको माध्यमबाट विचार व्यक्त गरिरहेको अवस्था रहेको उनले उल्लेख गरे ।

यस सन्दर्भमा मुख्यमन्त्री सोनलले प्रदेश सरकार जनताको काँधमा काँध मिलाएर व्यथितिलाई समाप्त पार्दै कुशासनलाई समाप्त पार्न तयार रहेको स्पष्ट पारे । उनले सरकार सुशासनको दिशामा पाइलाहरू अगाडि बढाउने र भ्रष्टाचार एवं भ्रष्टाचारीलाई समाप्त गर्दै भ्रष्टाचारमुक्त समाज र राज्य निर्माण गर्न तयार रहेको बताए ।

मुख्यमन्त्री सोनलले देशमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै दुनियाँका गरिब र निमुखा जनताको लागि सबभन्दा राम्रो व्यवस्था भएकोमा जोड दिए । उनले संविधान, नेतृत्व र ब्युरोक्रेसीमा कमजोरीहरू रहेको स्वीकार गर्दै ती सबलाई करेक्सन गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

यी चुनौतीका बाबजुद यही व्यवस्थालाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले यही व्यवस्थामा नेपाललाई समुन्नत नेपाल बनाउने र मधेश प्रदेशलाई समुन्नत मधेश प्रदेश बनाउने लक्ष्य रहेको बताए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै