बर्दिबास । महोत्तरी प्रहरीले जुवा तथा तास खेल्ने गिरोहमाथि कडा निगरानी बढाउँदै दुई फरक अपरेसनमा १९ जनालाई पक्राउ गर्न सफल भएको छ।
गोप्य सूचनाका आधारमा प्रहरीले २४ घण्टाको अन्तरालमा बर्दिबासका दुई स्थानमा छापा मारेको हो।
पहिलो अपरेसन कार्तिक १३ गते बिहान करिब १० बजे बर्दिबास नगरपालिका–७, किसाननगर टोलस्थित कर्ण बहादुर तामाङको सटर भएको घरको कोठामा भयो। इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले त्यहाँ तास खेलिरहेका ७ जना मानिसलाई रंगेहात नियन्त्रणमा लियो। प्रहरीले घटनास्थलबाट नगद २ लाख ३६ हजार ५ सय ७५ रुपैयाँ सहित तासको पत्ताहरू बरामद गरेको थियो।
यसलगत्तै, कार्तिक १४ गते राति साढे १२ बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले बर्दिबास नगरपालिका–५, टुटेश्वर मन्दिर नजिकै अर्को छापा मार्यो। उक्त स्थानमा जुवातास खेलिरहेका १२ जना मानिस नियन्त्रणमा परे। दोस्रो कारबाहीमा प्रहरीले नगद १ लाख ३२ हजार रुपैयाँका साथै कौरा २६ थान, काठका बाकस ३ थान र ११ थान विभिन्न कम्पनीका मोबाइल सेटहरू समेत बरामद गरेको छ।
पक्राउ परेका सबै १९ जना प्रतिवादीहरूलाई आवश्यक अनुसन्धानका लागि तत्कालै नियन्त्रणमा लिई सम्मानित महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।