वीरगन्ज । पर्सा जिल्लाका समान विचारधारा भएका गैरसरकारी संस्थाहरूबीच सहकार्य बढाउन र रणनीतिक योजना निर्माण गर्न वीरगन्जमा दुई दिने महत्त्वपूर्ण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
दलित महिला संघ वीरगन्ज पर्साको आयोजना तथा वुमेन्स फन्ड एसियाको सहयोगमा कार्तिक १३ गतेबाट सुरु भएको यो गोष्ठी १४ गते वीरगन्जमा सम्पन्न भयो।
कार्यशालाको अध्यक्षता दलित महिला संघ वीरगन्ज पर्साकी अध्यक्ष निला रामले गरेकी थिइन् ।
कार्यक्रममा पर्सा जिल्लाका विभिन्न संघ–संस्था र समुदायका २५ जना महिला तथा पुरुष प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले विशेषतः रणनीतिक योजना निर्माण, महिला सशक्तीकरण, नेतृत्व विकास, र समान लक्ष्य बोकेका संस्थाहरूबीच सहकार्य गर्ने विषयमा गहन छलफल र समझदारी बनाएका थिए।
‘दलित महिला संघ अब समुदायमा सचेतना फैलाउने कार्यमा मात्र सीमित रहँदैन। हाम्रो लक्ष्य भनेको अब रणनीतिक रूपमा नीति निर्माण तहमा समेत आफ्नो उपस्थिति सुनिश्चित गर्ने हो। महिलाहरूको अधिकार सशक्त बनाउन हामी सबैको एकीकृत सहभागिता अपरिहार्य छ। यस्तो कार्यक्रमले हाम्रो साझा लक्ष्यलाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।’, अध्यक्ष रामले भनिन् ।
गोष्ठीका क्रममा विभिन्न वक्ताहरूले दलित समुदाय, विशेषगरी महिलाहरूको अधिकार सुनिश्चित गर्नका लागि एकीकृत रणनीति बनाउनुपर्ने, नीति–स्तरको संवाद बढाउनुपर्ने र संगठनहरूबीच सञ्जाल विस्तार को आवश्यकता रहेकोमा जोड दिएका थिए।