
बीरगन्ज । हिन्दू धर्मावलम्बीहरुको महान चाड पर्व दशैँको रमझम सुरु भएको छ । दशैं खासगरी दश दिनसमम मनाइन्छ, जसको आठौं र नवौं दिनमा बली दिइने प्रचलन छ । त्यसैले दशैं भन्ने बित्तिकै खाने परिकारमा मासुको प्रमुखता हुन्छ ।
दशैं र मासु बिन्यास गर्नै नसकिने गरी स्थापित छ । यो चाडमा अधिकांश नेपालीको भान्सामा खसीको मासु पाक्छ । त्यसका अलावा च्याङ्ग्रा,राँगा बंगुर, कुखुरा र माछाको पनि अत्यधिक उपभोग हुन्छ ।
दशैंमा सबैभन्दा बढी खपत मासुकै हुन्छ, हुनेखानेका घरको चुल्होमा मात्र नभएर हुँदा खानेहरुले पनि ऋण नै काढेर भए पनि मासुको स्वाद लिन्छन् दसैंमा । अर्थात् मासुबिनाको दसैँ खल्लो जस्तै मानिन्छ । त्यसकारणले पनि होला दशैंको पर्यायवाची शब्द मासु लिइन्छ ।
दशैं अवधिभर लिङ्गे पिङ,रोटे पिङ्ग, जमघट÷भेटघाट गरेर उत्सव सेलिब्रेसन गरे पनि अन्ततोगत्वा त्यसलाई थप रमाइलो बनाउन फेरी मासुको खोजी हुन्छ, त्यसकारण दशैँमा मासुका विभिन्न परिकासहितको खानाले विशेष महत्व नै ओगटेको पाइन्छ ।
दशैँमा मासुमा अत्यधिक मसाला र चिल्लोको प्रयोग गरी पकाउनुका साथै अमिलो–पिरो खानेकुरा पनि उति नै पाक्ने गर्छ । दशैंमा घरमै बसी परिवारका साथमा होस् वा साथीभाइ आफन्तसँग मदिराजन्य पदार्थको सेवनसँगै जुवातास खेल्ने, टिभी हेर्ने, साथीभाइ जम्मा भएर गफगाफ गरेर समय बिताउने गरिन्छ ।
तर स्वादकै लागि मासुका परिकारहरु बनाएर खानेहरुले पछि स्वास्थ्यमा पर्न सक्ने असरबारे ख्याल गरेका हुदैँनन् । जसका कारण पछि अस्पतालमा भर्ना हुनुपर्ने वा उपचार गराउन जानुपर्ने बाध्यता रहन्छ । दशैँको रमाइलोमा भुल्दा गरिने सानो हेलचेक्रयाँइले पनि स्वास्थ्यमा नकारात्मक असर पु¥याउन सक्छ । चिकित्सक पनि टीका जमरा थाप्न, रमाइलो तथा भेटघाट गर्न छोडेर बिरामीको जिज्ञासा र अस्पतालबाट आउने ‘फोन’ ले हैरान बन्छन् ।
यो चाडमा खाना पनि चिल्लो र मसलायुक्त हुने र अन्य दिनको तुलनामा शारीरिक कसरत कम हुन्छ, जसकारण फुडपोइजनिङ, झाडापखाला, ग्याष्ट्रिकको समस्या, अल्सर, टाइफाइड, कोलेस्ट्रोल, पेट फुल्ने, मोटोपन बढाउने र सुगर ,प्रेसर मुटु सम्बन्धी दीर्घ रोगहरुलाई अप्ठायारो हुन सक्छ ।
अस्वस्थ खानपिनकै कारण मधुमेह, उच्च रक्तचाप भएका बिरामीले यस्तो खानेकुरा खाँदा रोग बढ्ने र फ्याटिलिभर बढ्ने गर्छ । साथै चाडपर्व सकिनासाथ निरोगी मानिस पनि आफ्नो तौल बढी भई वा अन्य दीर्घरोग लागेर अस्पताल धाउने अवस्था आउन सक्छ ।
दशैंमा अत्यधिक ‘रेड मिट’ अर्थात् रातो मासुको प्रयोग गर्नाले युरिक एसिडका बिरामी बढ्ने गर्छन् । यसको मुख्य कारण भनेको चाडबाडमा अन्य बेलाको भन्दा बढी खानेकुरा खाने तर आफ्नो स्वास्थ्यको ख्याल नराख्नु नै हो ।
त्यसैले यो महान चाड मनाउने क्रममा स्वादका लागि होइन स्वास्थ्यका लागि खाना खानु पर्ने चिकित्सकको सुझाव छ ।
कस्ता खाना खाने ?
दशैँ भन्नेबित्तिकै हाम्रो मानसपटलमा आउने भनेकै नयाँ कपडा, मिठो खाना नैे हो । त्यही भएर हो यो पर्वमा आ–आफ्नो गच्छे अनुसार ‘नाना’ लगाइन्छ र खाना पकाइन्छ ।
टीका, जमरा, चाडबाडमा रमाइलो गर्नुपर्छ, मिठो खानुपर्छ तर मिठो खाने भन्दैमा अत्यधिक मात्रामा माछा, मासु, मैदाले बनेका परिकार र चिनीबाट बनेका खानेकुरा खानु हुँदैन । दशैंमा मासु खानै हुँदैन भन्ने होइन, तर सन्तुलन मिलाएर खानुपर्छ । त्यसो गरिए पछि समस्या झेल्नबाट मुक्त भइन्छ ।
सन्तुलित भोजनले स्वास्थ्यलाई फाइदा गर्छ । जस्तैः एक दिन कुखुराको मासु खाने, अर्को दिन माछा खाने र खानामा मौसमी सागसब्जीको उपभोग गर्न सकिन्छ ।
यसरी खानामा सन्तुलन बनाएर खादाँ निरोगी बन्न सघाउ पुगछ ।
हाम्रो मनसपटलमा भएको ‘दशैँमा १० पटक खानुपर्छ र जति बेला पनि मासु नै खानुपर्छ’ भन्ने मान्यता गलत हो ।
माछा, मासुको राम्रो विकल्प फलफूल, सलाद, भटमास पनि बन्न सक्छ । तसर्थ शरीरले जति मागेको हुन्छ, त्यत्ति मात्र दिन दिनुपर्छ । अर्थातः हाम्रो शरिरले मागेको जति खानेकुरा खाएर पनि भव्य रुपले पर्व मनाउन सकिन्छ ।
चाडपर्वलाई भव्य एवम् सभ्य रुपले मनाउन तथा स्वास्थ्यकर खाना खान चिकित्सकहरुको अनुरोध छ ।
(मधेश सञ्चार संवाददाता प्रकृति अधिकारीले बारा, कलैयाका फिजिसियन डा.आशुतोष कुमार बादलसँग गरिएको कुराकानीमा आधारित)