वीरगन्ज । जेन–जेड आन्दोलनका क्रममा शहीद भएका वीरगन्जका अशाब आलमको बलिदानको स्मृतिमा वीरगन्जमा ‘वीरगन्ज जेन–जेड युवा कमिटी’ औपचारिक रूपमा गठन गरेको छ।
बैठकले शहीद अशाब आलमका भाइ मुराद आलम ठकुराईलाई संयोजक र आन्दोलनकै क्रममा गम्भीर घाइते भएका रेयाजुल हकलाई उप–संयोजक चयन गरेको छ। यससँगै वीरगन्ज महानगरलाई केन्द्र बनाउँदै १०० सदस्यीय युवा कमिटी गठनको घोषणा गरिएको छ।
नवगठित समितिका सदस्यहरू सागर यादव, ग्यानेन्द्र मण्डल, चन्दन महतो, वासिम शेख, निरज जोशी, अनिश कुमार पटेल, समीर अन्सारी लगायत १०० जना युवाहरू रहेका छन् ।
बैठकमा सहभागिता जनाएका वक्ताहरूले जेनजी आन्दोलनका शहीदहरूको बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको नेतृत्वमा देशमा परिवर्तन, पारदर्शिता र उत्तरदायी राजनीतिक संस्कृति स्थापना गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा युवा कमिटीसँगै जेन–जेड सल्लाहकार समिति पनि गठन गरिएको छ। सो समितिमा महादेव प्रसाद कुर्मी, सञ्जय श्रेष्ठ, राहुल रौनियार लगायत ७ सदस्यीय टोली रहेको छ।
त्यस्तै, आन्दोलनका गतिविधिहरूलाई समन्वय र सुदृढ बनाउने उद्देश्यले जेन–जेड समन्वय समिति पनि गठन गरिएको छ, जसमा सुधिर पटेल, बिरेन्द्र कान्त, रन्दिप श्रीवास्तव, जयशंकर यादव र अमन आलम सदस्य रहेका छन्।
बैठकमा बोल्दै संयोजक मुराद आलम ठकुराईले भने, ‘हाम्रा शहीदको बलिदान व्यर्थ जान दिन्नौं। आन्दोलनको उद्देश्य देशमा न्याय, समानता र स्थायित्वको नयाँ आधार तयार गर्नु हो।’
उप–संयोजक रेयाजुल हकले भने, ‘वीरगन्जका युवाहरू परिवर्तनको अग्रपंक्तिमा उभिन तयार छन्। हाम्रो अभियान कुनै दल विशेषको नभई देश र जनताको पक्षमा हुनेछ।’
कार्यक्रममा उपस्थित युवा सहभागीहरूले जेनजी आन्दोलनलाई संगठित, अनुशासित र नीति–आधारित अभियानका रूपमा अघि बढाउने संकल्प व्यक्त गरे।
बैठकको अन्त्यमा संयोजक मुराद आलम ठकुराईले सबै युवा, नागरिक र समाजका सचेत वर्गलाई देशमा नयाँ राजनीतिक दिशा निर्माणका लागि हातेमालो गर्न आह्वान गरेका थिए।