वीरगन्ज । मण्डला नाटकघर, थापागाउँमा कार्तिक १३ देखि २० गतेसम्म “खमारी, मौन संवाद” शीर्षकको नाटक मञ्चन भइरहेको छ।
मणि के. राईको परिकल्पना र निर्देशनमा एक थिएटर नेपालद्वारा प्रस्तुत यो नाटक सोमबारबाहेक हरेक दिन मञ्चन हुँदैछ । जसमा कार्तिक १३ देखि १७ गतेसम्म साँझ ५ः १५ बजे र १८ देखि २० गतेसम्म दिउँसो ४ः३० बजे प्रदर्शन हुने कार्यक्रम छ।
मौन संवादमा आधारित “खमारी” नाटकले नृत्य, संगीत र मूभमेन्टमार्फत मानव र प्रकृतिबीचको सम्बन्ध, बाल-मनोविज्ञान र मानवको स्वार्थले प्रकृतिमा पारेको प्रभावलाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ। समीक्षक प्रेमचन्द्र पाण्डेले नाटकबारे प्रतिक्रिया दिँदै भनेका छन् । “मौन संवादले उठाएको मुद्दामा गम्भीर चित्कार भरिएको छ। नाटकले प्रकृतिसँग मात्र होइन, बाल(मनोविज्ञानसँग पनि सशक्त संवाद स्थापित गरेको छ।”
नाटकमा सौजन सेनेहाङ्ग, प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेमचन्द्र पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देविका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर र रञ्जना नेपालीको अभिनय रहेको छ। मौन अभिनय, सशक्त शारीरिक अभिव्यक्ति र संवेदनशील विषयवस्तुका कारण “खमारी” लाई नेपाली रंगमञ्चमा एक नवीन र कलात्मक प्रयोगका रूपमा हेरिएको छ, जसले दर्शकलाई मानव र प्रकृतिबीचको मौन तर गहिरो सम्बन्धबारे सोच्न बाध्य बनाउँछ।