वीरगन्ज । शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६, इनर्वामा विराट कुस्ती (दंगल) प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ।
इनर्वा महाबीर मन्दिर संरक्षण समाज, पर्साद्वारा आयोजित यस प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न राजनीतिक व्यक्तित्व तथा स्थानीय भद्रभलादमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रतियोगिताको उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप यादव प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।
कार्यक्रमका विशेष अतिथि तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कुस्ती खेल हाम्रो सांस्कृतिक पहिचानको अभिन्न अंग भएको बताउँदै परम्परागत कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्न यो प्रतियोगिता महत्त्वपूर्ण प्रयास भएको धारणा व्यक्त गरे ।
उद्घाटनका क्रममा वक्ताहरूले कुस्तीले युवा पुस्तामा अनुशासन, साहस, र आत्मविश्वास बढाउने प्रेरणा दिने उल्लेख गरे। उनीहरूले यस्ता प्रतियोगिताले कुस्तीलाई स्थानीय स्तरमा अझ सशक्त बनाउनुका साथै वीरगन्ज क्षेत्रको सांस्कृतिक धरोहरलाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसिया, विश्रामपुर गाउँपालिकाका अध्यक्ष मदन यादव लगायत स्थानीयको उपस्थिति रहेको थियो। इनर्वा महाबीर मन्दिर संरक्षण समाजले आयोजना गरेको यो दंगल प्रतियोगिता स्थानीय खेलाडीहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च बनेको छ।