ट्रेन्डिङ

बिहार चुनावअघि नितिशको जेडीयूद्वारा ११ नेता निष्कासन, एनडीए गठबन्धनमा बागी चुनौती

वीरगन्ज । बिहार विधानसभा चुनाव २०२५ नजिकिँदै गर्दा जनता दल युनाइटेड (जेडीयू) ले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै ११ जना नेताहरूलाई पार्टीको प्राथमिक सदस्यताबाट निष्कासन गरेको छ।

शनिबार राति एक विज्ञप्ति जारी गर्दै जेडीयूले निष्कासनको यो आदेश तत्काल लागू हुने जनाएको छ।पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र वा अन्य रूपमा चुनावी मैदानमा उत्रिएर संगठनको छविमाथि क्षति पुर्‍याएको आरोपमा जेडीयूले यो कडा कदम चालेको हो। निष्कासित हुने नेताहरूमा पूर्वमन्त्री शैलेश कुमार, पूर्व विधायकहरू संजय प्रसाद र श्याम बहादुर सिंहसहित रणविजय सिंह, सुदर्शन कुमार, अमर कुमार सिंह, आस्मा परवीन, लब कुमार, आशा सुमन, दिव्यांशु भारद्वाज र विवेक शुक्ला रहेका छन्।

बिहारमा भारतीय जनता पार्टी (बीजेपी)को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मा यसपटक बिहारका मुख्यमन्त्री नितिश कुमारको जेडीयू, लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी आवाम मोर्चा (हम) र राष्ट्रिय लोक मोर्चा (आरएलएम) जस्ता दलहरू सामेल छन्। गठबन्धनमा मुख्यतया जेडीयू र बीजेपीले १०१–१०१ सिटमा चुनाव लड्ने गरी सिट बाँडफाँड गरिएको छ। लोजपालाई २९ सिट, हम र आरएलएमलाई ६–६ सिट दिइएको छ।

जेडीयूले आफ्ना बागी नेताहरूलाई निष्कासन गरेर गठबन्धनको अनुशासन कायम राख्ने र आफ्ना उम्मेदवारहरूलाई बलियो बनाउने प्रयास गरेको देखिन्छ। यद्यपि, गठबन्धनका उम्मेदवारविरुद्ध आफ्नै पार्टीका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुले एनडीए भित्रको आन्तरिक असन्तुष्टि र बागी चुनौतीलाई स्पष्ट पारेको छ। यसले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै