वीरगन्ज । वीरगन्ज तेक्वान्दो दोजाङका प्रतिभाशाली खेलाडी अफताब आलम (५४ केजी तौल समूह) चीनको उक्सी शहरमा आयोजना हुने प्रतिष्ठित विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन लागेका छन्।
अक्टोबर २४ देखि ३० सम्म चल्ने यस प्रतियोगितामा आलमले नेपालको राष्ट्रिय प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कला प्रदर्शन गर्नेछन्।
नेपाल तेक्वान्दो संघले अफताब आलमसहित कुल आठ खेलाडीलाई प्रतियोगिताका लागि बिदाइ गरेको छ। पुरुषतर्फ सुमित विष्ट, आशिष भण्डारी, सुगन श्रेष्ठ, अरुण टमाटा र अभिषेक बराल सहभागी छन् भने महिलातर्फ सन्तोषी राई र ईशा महतोले प्रतिस्पर्धा गर्दैछन्। टोलीको प्रशिक्षकको जिम्मेवारी सैयद हसन रेजाले सम्हालेका छन्।
वीरगन्ज तेक्वान्दो दोजाङका गुरु महमद सकिलले अफताबलाई सफलताको शुभकामना दिँदै भने, ‘अफताब आलम जस्तो प्रतिभाशाली खेलाडीले हाम्रो दोजाङ र देशको प्रतिनिधित्व गर्नु हामी सबैका लागि गर्वको विषय हो।’
विश्व च्याम्पियनसिप लगत्तै यो टोली नोभेम्बर २ देखि ४ सम्म चीनमा नै हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज प्रतियोगितामा समेत सहभागी हुनेछ। नेपाल तेक्वान्दो संघले यी प्रतियोगिताहरूले खेलाडीहरूको अन्तर्राष्ट्रिय अनुभव बढाउने र देशको खेलकुद स्तरलाई उकास्ने विश्वास व्यक्त गरेको छ।