वीरगन्ज । इजरायलमा हमासको आक्रमणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइएको छ। अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिनको शव स्वदेश आइपुगेको हो ।
देशको लागि दुःखद बनेको यो क्षणमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए। विमानस्थलमा विपिनको शव रहेको कफिनमा राष्ट्रिय झण्डा ओढाइएको थियो।
विपिन जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणपछि बन्धक बनाएको थियो। लामो समयसम्म उनको अवस्था अज्ञात रहे पनि गत असोज २७ गते इजरायली अधिकारीहरूले मृत्यु पुष्टि गरेका थिए।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो। त्यसपछि गरिएको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो। इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार, फरेन्सिक जाँचमा विपिनको अपहरण भएताका नै मृत्यु भएको पाइएको थियो।
नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अभिभस्थित खटिभा ८ को स्मारक र बेनगुरिएन विमानस्थलमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
विमानस्थलमा श्रद्धाञ्जली अर्पण गरिएपछि आजै उनको शव गृहजिल्ला कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिने छ। परिवार र आफन्तले कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गर्ने तयारी गरेका छन्।
इजरायलमा कृषि अध्ययनका लागि पुगेका विपिन जोशीको असामयिक निधनले सिंगो देश शोकमा छ।