जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पंजियार सहित ७ जना विरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।
जिल्ला अदालतले असोज ३१ गते इलाका प्रहरी कार्यालय, महेन्द्रनगरलाई पत्राचार गर्दै पक्राउ पूर्जी तत्काल तामेल गर्न निर्देशन दिएको छ।
जिल्लाको प्रमुख राजनीतिक नेतृत्वमध्येका एक पंजियारको नाममा पक्राउ पूर्जी जारी भएपछि धनुषा कांग्रेसमा राजनीतिक हलचल मच्चिएको छ।
अदालतको पत्रमा उल्लेख भएअनुसार, क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ का राजदेव चौधरीको छोरा सुशील कुमार चौधरीले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी भई उक्त ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो।
अदालतले क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १ र ५ मा बस्ने ७ जना प्रतिवादीहरूलाई पक्राउ गर्न आदेश दिएको छ ।
वडा नं. ५ बस्ने नेपाली कांग्रेसका धनुषा सभापति योगेन्द्र पंजियार, वडा नम्बर १ बस्ने उमेश यादव र बडा नम्बर ५ का अमर पंजियार, जिवछ मण्डल, नवल मण्डल, निरज मण्डल, कमल मण्डल धानुकलाई पक्राउ गर्न अदालतले पत्र जारी गरेको छ ।
अदालतले यी ७ जना प्रतिवादीका लागि जारी भएका कुल ६३ पानाको पक्राउ पूर्जी इलाका प्रहरी कार्यालय महेन्द्रनगर पठाई तामेलपश्चात् तामेली प्रति अदालतमा पठाउन निर्देश गरेको छ।
प्रहरीले अदालतको आदेश कार्यान्वयनका लागि प्रतिवादीहरूको खोजी कार्य र पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
