वीरगन्ज । जेनजी आन्दोलनपछि अन्तरिम सरकारमा स्वास्थ्यमन्त्रीको रूपमा चर्चामा आएकी पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले विशेष अदालतमा मिश्रविरुद्धको आरोपपत्रको फाइल पेश गरेको हो। अख्तियार स्रोतका अनुसार, ‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ। फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको छ।’
देशमा जेनजीको आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा नयाँ सरकार गठन हुँदा डा. मिश्र स्वास्थ्यमन्त्रीको स्वाभाविक आकांक्षीको रूपमा चर्चामा थिइन्। उनी पहिले स्वास्थ्य सचिवको दौडमा थिइन्, तर डा. विकास देवकोटालाई सचिव बनाइएपछि उनी बिदामा बसेकी थिइन्।
नयाँ सरकार बनेपछि उनी मन्त्रालय जान थालेकी थिइन् र स्वास्थ्यमन्त्रीको रूपमा उनको नाम जोडिएर चर्चामा आउन थालेको थियो। मन्त्री बन्ने चर्चाकै बीचमा उनले राजीनामा दिएकी थिइन्।
स्रोतका अनुसार, डा. मिश्रको नाम स्वास्थ्यमन्त्रीको रूपमा उच्च तहमा चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई जानकारी गराएका थिए। अख्तियारले ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ भनी अवगत गराएको थियो।
सोही जानकारीपछि डा. मिश्रको नाम मन्त्रीमण्डलबाट एकाएक रोकिएको थियो, जसले गर्दा उनले राजीनामा दिएकी थिइन्।
अख्तियारले डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरिएको खरिद प्रक्रियासँग सम्बन्धित फाइलमा अनियमितता भएको भन्दै उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।