ट्रेन्डिङ

त्रिवि क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन १० अर्बको गुरुयोजना स्वीकृत

वीरगन्ज । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर परिसरमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि महत्वाकांक्षी कदम चालेको छ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको विस्तृत गुरुयोजना स्वीकृत गर्दै यस आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना को रूपमा निर्धारण गरेको छ। गुरुयोजनाअनुसार रङ्गशाला निर्माणका लागि अनुमानित १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले यो निर्णय नेपालको खेलकुद र पर्यटन दुवैका लागि रणनीतिक महत्त्वको भएको बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न सुविधासम्पन्न रङ्गशालाको आवश्यकतालाई ध्यानमा राखी गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय गरिएको जानकारी दिए ।

मन्त्री घिसिङका अनुसार, मन्त्रिपरिषद् बैठकले आयोजनालाई राष्ट्रिय प्राथमिकता दिएपछि अब गुरुयोजना बमोजिम जग्गा सम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रूप दिने बाटो खुलेको छ। यसका साथै, रङ्गशाला विस्तारको दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन पनि स्वीकृति प्राप्त भएको उनले बताए ।

केही दिनअघि स्थलगत निरीक्षणमा गएका मन्त्री घिसिङले यस आयोजनामा बजेट अभाव हुन नदिने र निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हाल त्रिवि र नेपाल क्रिकेट संघ (क्यान) बीचको मैदान प्रयोग गर्ने जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ। यसलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले गुरुयोजनाका लागि आवश्यक जग्गा प्रचलित कानून बमोजिम रङ्गशालाको रूपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय रराष्ट्रिय खेलकुद परिषद्बीच नयाँ सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन्, जसलाई आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग भन्दा अगावै सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै