वीरगन्ज । चित्रांश यूथ टिम वीरगन्जको आयोजनामा तथा चित्रगुप्त समिति वीरगन्जको प्रस्तुतिमा ‘प्रथम कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ।
आज वीरगन्जमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी दिएका छन्। संयोजकहरुले जनाएका अनुसार उक्त प्रतियोगिता कार्तिक ७ गते बिहान ७ बजेबाट वीरगन्जको ज्ञानदा एकेडेमीको मैदानमा सुरु हुनेछ।
यो प्रतियोगिता सुपर सिक्स नॉकआउट प्रारूपमा खेलाइनेछ, जसअन्तर्गत कुल १० टिमहरू सहभागी हुनेछन्। प्रत्येक खेल ५ ओभरको हुनेछ र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गरिने योजना रहेको संयोजकहरूले बताएका छन्।
पत्रकार सम्मेलनपछि सहभागी टिमहरूका खेलाडीहरूको अक्सन (किनबेच प्रक्रिया) समेत सम्पन्न गरिने जानकारी पनि दिइएको छ।
यस प्रतियोगिताको उद्देश्य युवाबीच आपसी सहयोग, खेलप्रतिको रुचि र सामाजिक एकता अभिवृद्धि गर्नु रहेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा वीरगन्ज महानगरपालिकाको सहयोग रहनेछ।