ट्रेन्डिङ

राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमाले अध्यक्ष ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित

वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

शनिबार जेनजी समूहका प्रतिनिधिहरूसँग छलफलका लागि समय तोकेका उनी अस्वस्थ भएपछि सो छलफल दुई दिन पछि सारिएको थियो र लगत्तै उनी अस्पताल गएका हुन्।

अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्। उनी अस्पताल आइपुगेको करिब दुई घण्टा भएको र अहिले प्रारम्भिक परीक्षण भइरहेको स्रोतले जनाएको छ।

यसैबीच, नेकपा एमालेको सचिवालय बैठक पनि स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए। अधिकारीका अनुसार ‘अध्यक्षलाई रुघाखोकीले समस्या भयो, त्यसैले बैठक स्थगित गरिएको’ हो। आज स्थगित भएको बैठक भोलि बिहान ११ बजे बस्नेछ।

केन्द्रीय कमिटीको एजेण्डा तय गर्न ओली निवास गुन्डुमा हिजोबाट सचिवालय बैठक सुरु भएको थियो। बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए। तीमध्ये ६ जना पदाधिकारीले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न आग्रह गर्दै अहिलेकै नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने तर्क राखेका छन्। बाँकी पदाधिकारीले भोलिको सचिवालय बैठकमा आफ्नो कुरा राखेपछि केन्द्रीय कमिटीको एजेन्डाबारे निर्णय हुनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै